अर्थ

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

बाबियाचौर – उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ। 

मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो। दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती शुरु गरिएको जिल्ला सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए। 

धापुङका जितबहादुर मगर, झाँक्रेपानीकी सम्झना रोका, सिरकुमका खडानन्द सापकोटा, पूर्णगाउँका नरबहादुर खत्री, थाइवाङका दधीलाल जैसी, हिदीका हेम शेरपुञ्जा, विष्णु शेरपुञ्जालगायतले १७ हजार सतुवाको बिरुवा लगाएका छन्। जडीबुटी खेतीका लागि गाउँपालिकाले चालू आवमा रु १० लाख बजेट विनियोजन गरेको छ। 

“हालसम्म रु पाँच लाख ७५ हजार खर्च भइसकेको छ,” उनले भने। समुद्री सहतदेखि एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरको उचाइको चिस्यान र मलिलो माटो भएको भूगोलमा सतुवा खेती गर्न सकिन्छ। सतुवा प्रतिकिलो रु १० हजारमा बिक्री भइरहेको छ। लगाएको एक वर्षमै सतुवाबाट आम्दानी लिन सकिन्छ। 

व्यावसायिक जडीबुटी खेतीप्रति कृषकलाई आकर्षित गरी उनीहरुको आयआर्जनमा सुधार र बाँझिएका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने उद्देश्यले सतुवा, टिम्मुरलगायत जडीबुटी खेतीको विस्तार गर्ने योजना रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। 

प्रकाशित: २६ चैत्र २०७४ ०७:५३ सोमबार

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु