अर्थ

कुलमानले भने: अहिले लाइन जोड्छौँ, १५ दिनमा बक्यौता नतिरे फेरि प्रक्रिया सुरु

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङले सरकारको निर्देशन बमोजिम विद्युत् लाइन काटिएका उद्योगमा तत्काल जोडिने बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले सकारको निर्णय कार्यान्वयन गर्नु प्राधिकरणको दायित्व भएकाले तत्काल लाइन जोड्ने बताएका हुन् । 

‘नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण ऐन २०४१ अनुसार गठन भएको संस्था भएकाले नेपाल सरकारको निर्देशन पालन गर्नु कर्तव्य हो,’ घिसिङले भने,‘विच्छेद गरेको लाइन नेपाल सरकारले जोड्ने निर्णय कार्यान्वयन गर्ने चरणमा छौँ ।’ 

डेटिकेटेड तथा ट्रङ्क लाइन विवादमा प्राधिकरणले काटेको बिलअनुसारको रकम नतिरेका ३९ उद्योगको लाइन प्राधिकरणले कात्तिक ८ गते काटेको थियो । 

‘१५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई लाइन जोड्ने निर्देशन भएको छ । १५ दिनभित्र बक्यौता उठाउन हामी लाग्नेछौँ । उहाँहरूले १५ दिनभित्र सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुहुनेछ भन्ने आशा छ,’ घिसिङले भने । 

यसअघि पनि तीन पटक लाइन विच्छेद गर्दा तीनै पटक प्रशासनिक निर्देशन आएकाले प्राधिकरण पालना गर्दै आएको दृष्टान्त घिसिङले सुनाए । उनले भने,  ‘यो चौथो पटक हो । चौथो पटक पनि प्रशासनिक निर्देशन आयो ।’ 

यो भन्दा अगाडि २८ किस्ता तोकेर एक किस्ता तिर्ने १४ उद्योगको  लाइन जोडिसकेको उनले बताए । कुल ३९ उद्योगमा समस्या रहेको बताउँदै उनले ७ वटाको स्टे अर्डर आएको र २८ उद्योगले कुनै पनि किस्ता नतिरेको उनले बताए । 

‘१५ दिनभित्र उहाँहरूले नदिए हामीले गरेको बिल नबुझाए हामी आफ्नो प्रक्रियामा फेरी लाग्नेछौँ । सरकारले भनिसकेको छ १५ दिनभित्र बक्यौता रकम असुल गर्नू,’ उनले भने, ‘यो नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको दायित्वभित्र आएको छ ।’ १५ दिनभित्र बक्यौता नउठे सरकार र मन्त्रालय बक्यौता उठाउनेतर्फ लाग्ने विश्वास व्यक्त गरे । 

यो भन्दा अगाडि पनि ३ महिना समय दिएको बक्यौता तिर्न दिएको पनि उनले स्मरण गरे । उनले भने, ‘१५ दिनपछि पनि बुझाइएन भने यो सरकार मन्त्रालय र प्राधिकरणको मात्रै सरोकारको विषय रहेन । आम जनसरोकारको विषय बन्नेछ । आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्ने लागेको छ ।’

अब धेरै पटक लाइन काट्ने फेरी जोड्ने बक्यौता नउठ्ने हुनु नहुने घिसिङले बताए । 

प्रकाशित: २८ कार्तिक २०८१ १४:४७ बुधबार

#Nepal Electricity Authority #kulman ghising #Deticated & Trunk line Conflict