महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्ष झण्डै १५ अर्ब रुपैयाँ बेरुजु औँल्याइएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा महालेखाले उक्त कुरा औँल्याएको हो। प्रतिवेदनमा आर्थिक वर्ष २०८०/ ८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु औँल्याइएको छ।
कार्यालयले राजस्वतर्फ ४ करोड २८ लाख, कार्य सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रुपैयाँ र म्याद नाघेको पेस्की १० अर्ब ४५ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधान एवं अर्थमन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।
प्रकाशित: २७ कार्तिक २०८१ १८:४२ मंगलबार