अर्थ

उपचुनावले सर्‍यो ‘घुम्न जाउँ बर्दिया’ अभियान

बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न थालेको ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सारिएको छ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कात्तिक २९ मा बर्दियामा यो कार्यक्रमको शुभारम्भ गर्ने गरी तयारी थालेको थियो। तर बर्दियामा पनि स्थानीय तह उपनिर्वाचन हुने भएकाले यो मितिमा कार्यक्रम आयोजना गर्न नसकिएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।

बर्दियाको ठाकुरबाबा वडा नम्बर ४ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ। उपचुनाव मंसिर १६ गते तोकिएको छ। आगामी २९ गते हुने भनिएको अभियान उद्घाटन अब आगामी मंसिर २१ मा गरिने भएको छ।

सोमबार बर्दियाका स्थानीय तह, सरोकार वाला पक्ष र लुम्बिनी प्रदेश पर्यटन परिषद् बिच अभियान उद्घाटन कार्यक्रम बारे छलफल गरिएको थियो। छलफलमा उपनिर्वाचनका कारण कार्यक्रम आयोजना गर्न समस्या हुने देखिएकाले कार्यक्रमको मिति उपचुनाव पश्चात् गरिनु पर्ने सुझाव आएको थियो। सोही सुझावका आधारमा आगामी मंसिर २१ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए।

प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित प्रदेश सरकारले यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको हो। बर्दियाका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरूलाई बर्दिया जिल्लामा जाने वातावरण निर्माण गर्ने गरी मन्त्रालयले वर्षभरि प्रचारात्मक कार्यक्रम गर्ने छ। बर्दियाको प्रमुख आकर्षण त्यहाँ रहेका बाघको दृश्यावलोकन हो। बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि परिचित थलो हो। यसै गरी  डल्फिन, कृष्णसार लगायतको अवलोकन बर्दियाका थप आकर्षण हुन्। 

प्रकाशित: २६ कार्तिक २०८१ १७:४८ सोमबार