अर्थ

'युवा पलायन रोक्न स्थानीय उत्पादनको खपत बढाउनु पर्छ'

नेपालबाट लाखौंको संख्यामा हुने युवाहरुको पलायन रोक्न स्थानीय उत्पादनको खपतमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। यसले युवाहरुको आयस्रोतमा वृद्धि हुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुग्ने उनीहरुको तर्क छ ।  

सेन्टर फर ईनोभेटिभ गभर्नेन्स प्राक्टिसेस्ले ललितपुरमा आयोजना गरेको ‘नेपालमा नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा धारणा राख्नै उनीहरुले  ‘स्टार्टअप’ उद्यम गर्ने युवाहरुलाई प्रत्साहन गर्न जरुरी रहेको धारणा राखे।  

कार्यक्रममा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले घरेलु व्यापार प्रवर्द्धनका लागि स्थानीय उत्पादनका सामग्री प्रयोगमा जोड दिनुपर्ने बताइन्। अघिल्लो वर्ष स्टार्टअप उद्यम कर्जा लिनेमध्ये ४८ प्रतिशत महिला रहेको चर्चा गर्दै अध्यक्ष ज्ञवालीले भनिन्, 'जब हामीलाई हाम्रै सामान उपभोग गर्न लाज लाग्छ । प्रयोग गर्दैनौं भने त्यो देशको व्यवसाय कसरी उभो लाग्छ त ?'

विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउँदै उनले सरकारले सुरु गरेको स्र्टार्टअप कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले यो वर्ष बजेट बढाएर एक अर्ब पुर्याएको दाबी गरे।  

सोही कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दोमोदर भण्डारीले युवाहरु कामको खोजीमा बाहिर नजाउन् भन्ने उद्धेश्यसहित सरकारले काम गरिरहेको बताए। सबै स्वदेशी उत्पादन खपत भए स्टार्टअप कार्यक्रम सफल हुने बताउँदै मन्त्री भण्डारीले सरकारी योजनालाई कार्यान्वयनमा लैजान निजी क्षेत्रको भूमिका पनि उल्लेख्य हुने उल्लेख गरे।  

कार्यक्रममा आईईडीआईका कार्यकारी निर्देशक ईन्जिनियर उमेशकुमार गुप्ता, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकका प्रवक्ता रामु पौडेल, एमओएफएजीएका महासचिव प्रकाश दाहाल, उद्योग वाणिज्य महासंघकी प्रतिनिधि जुना माथेमालगायतले सरकारको कार्यक्रम सफल बनाउन बैंक तथा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए। 

प्रकाशित: २६ कार्तिक २०८१ १६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App