अर्थ

काठमाडौं–पोखरा उडान कटौती, नेपालगञ्ज र भैरहवाका लागि थप

.

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा आन्तरिक उडान पनि प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेअघि उडान गर्न नपाइने भएपछि आन्तरिक उडान गरिरहेका हवाई कम्पनिले पोखराका लागि गर्दै आएको उडान संख्या कटौती गरेका छन्।  

पोखराबाट अन्य सहरका लागि भने हवाई कम्पनिले उडान थपेका छन्। काठमाडौं–पोखरा रुटमा नियमित उडान गरिरहेका बुद्ध, यती र श्री एयरलाइन्सले उडान संख्या कटौती गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। योसँगै आगामि चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रभावित हुनेछन्।

बुद्ध एयरले काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १७ वटा उडान गरिरहेकोमा घटाएर १४ वटामा झारेको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर वृद्धि गर्नका लागि संचालन समय घटाएका कारण बिहानी समयका उडान प्रभावित भएपछि पोखराका तीनवटा उडान कटौती गरेको बताए।  

‘बिहान ८ बजेपछि मात्र बल्ल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न पाइन्छ। त्यसैले अहिलेका लागि पोखराका दैनिक तीनवटा उडान कटौती भएका छन,’ उनले भने, ‘समय अपुग भएकोले कटौती भएका हुन। बेलुकी पनि १० बजे अघि नै उडान सकिसक्नुपर्छ। अहिले काठमाडौंबाट पोखराको अन्तिम उडान बेलुकी ८ बजे रहेको छ।’

उनका अनुसार पोखराबाट अन्य सहरमा हुने आन्तरिक उडान भने थपिएको छ। पोखराबाट भैरहवाका लागि दैनिक एउटामात्र उडान हुँदै आएकोमा अहिले बढाएर दोब्बर बनाइएको छ। बिहान ७ बजे र बेलुकी ६ बजे पोखराबाट भैरहवाका लागि उडान गरिरहेको उनले बताए। त्यस्तै पोखराबाट नेपालगञ्जका लागि पनि दैनिक उडान गरिरहेको उनले बताए।

यसअघि पोखराबाट नेपालगञ्ज सातामा तीनदिन मात्र उडान भईरहेको थियो। पोखराबाट भरतपुर भने दैनिक एउटा उडान भईरहेको उनले बताए। ‘पोखराबाट बिहानको समयमा काठमाडौं बाहेकको रुटमा उडान गर्न खासै समस्या छैन। काठमाडौंमा ८ बजेपछि मात्र खुल्ने भएकोले त्यसअघिको समयलाई सदूपयोग गर्नेगरि पोखराबाट अन्यत्र आन्तरिक रुटमा उडान थपेका छौं,’ उनले भने।  

यती एयरलाइन्सले पनि अहिले पोखराका लागि उडान कटौती गरेको छ। यतीले काठमाडौं–पोखरा रुटमा दिनमा १० वटा उडान गर्दै आएकोमा अहिले घटाएर ६ वटामा झारेको छ। यो बेला काठमाडौंबाट पोखरा आउने भन्दा पनि पोखराबाट काठमाडौं जाने यात्रु पर्याप्त हुँदाको अवस्थामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका कारण उडान कटौती गरेको यतीका एकजना पदाधिकारीले बताए।

‘पोखराबाट काठमाडौंका लागि पर्याप्त यात्रु थिए। तर, अहिले उडान संख्या नै कटौती भएका छन,’ उनले भने। अर्काे हवाई कम्पनि श्री एयरलाइन्सले पनि अहिले उडान कटौती गरेको छ। दिनमा दुइवटा उडान गरिरहेको श्री एयरलाइन्सले अहिले दिनमा एउटा मात्र उडानमा झारेको छ।  

पर्यटन व्यावसायीले हवाई उडान कटौती भएको र स्थलमार्गमा समस्या भएकोले पर्यटक आउजाउमा असर परेको बताउँदै आएका छन्। पोखराका अगुवा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले अहिले पोखरा भित्रिनका लागि स्थल र हवाई दुवैमार्गमा समस्या रहेको बताउँछन्। हवाई उडानको संख्या घटेको र स्थलमार्गमा झन्झट हुँदा यात्रा अनिश्चित बनेको बताए।

‘पोखरामा यो सिजनमा आन्तरिक पाहुना पनि आउन सकेनन। यसको कारण भनेकै यातायातमा अहसजता हो,’ उनले भने, ‘पर्यटक हिडडुल गर्ने बेलामै विपद् आइलाग्यो। स्थलमार्ग असुरक्षित भयो भने हवाई मार्ग पनि सहज भएन।’

प्रकाशित: २५ कार्तिक २०८१ १८:०६ आइतबार

आन्तरिक उडान