अर्थ

ताप्लेजुङ आउने पर्यटक बढे

यस याममा ताप्लेजुङ आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको भन्दा वृद्धि भएको छ। पर्यटन व्यवसायीहरूका अनुसार विदेशी पर्यटकका लागि चैतदेखि एक सिजन र भदौदेखि दोस्रो सिजन सुरु हुन्छ। दोस्रो सिजनको कात्तिक तेस्रो सातासम्मको अवधिमा ताप्लेजुङमा करिब सात सय जना विदेशी पर्यटक आएका छन्।  

कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसीतेञ्जिङ शेर्पाका अनुसार यो सिजनमा सबैभन्दा बढी फ्रान्स, जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन्। ‘आउन त धेरै देशका नागरिक आएका छन्, सबैभन्दा बढी तीन देशका छन्’ टाँसीतेञ्जिङले भने। उनका अनुसार अमेरिका, क्यानडा नेदरल्याड, जापान, कोरियालगायतका देशका नागरिक पनि आएका छन्।  

अघिल्लो वर्षको यस याममा ताप्लेजुङ आउने पर्यटकको संख्या ६ सयभन्दा कम रहेको जानकारी उनले दिए। चैत, वैशाख, जेठ, भदौ, असोज, कात्तिक र मंसिर महिनामा विदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन्। आरोहण भने सबैभन्दा बढी वैशाख र जेठमा हुने गरेको पाइएको छ। असार र साउनमा वर्षा तथा पुस, माघ र फागुनमा हिउँका कारण यो अवधिमा विदेशी पर्यटकको आवागमन ठप्प प्रायः हुने गरेको छ।  

ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो। कञ्चनजंघा जान तीन वटा पदमार्ग प्रयोग हुँदै आएको छ।  

सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ। तापेथोकसम्म सवारीमा जान सकिन्छ भने त्यसउताको भागमा पैदलयात्रा गर्नुपर्छ। कञ्चनजंघा जाने अर्को पदमाग भनेको सुकेटार हुँदै सिरिजंघा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ, फुम्पेडाँडा–मामाङ्खे हुँदै याम्फुदिन भएर पुग्न सकिन्छ। तेस्रो पदमार्ग भनेको पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिनसम्म जान सकिन्छ। हिउँद याममा याम्फुदिनसम्मै सवारीमा यात्रा गर्न सकिन्छ ।

प्रकाशित: २५ कार्तिक २०८१ ०७:४२ आइतबार

#Taplejung #kanchanjungha