अर्थ

पर्यटक पर्खिएको डबली

.

पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्‍यो।

ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलोका रुपमा चिनिएको नुवाकोटमा सांस्कृतिक डबली सञ्चालन गरेर पर्यटकहरूको आवागमन बढाउने लक्ष्य अनुरूप ३ करोड ८५ लाख रुपैयाँमा निर्माण भएको डबली निर्माण त भयो तर सञ्चालनमा आउन सकेन। प्रदेश सरकारले डबली सञ्चालन गर्न सकेन।

स्थानीय तहलाई पनि प्रदेश सरकारले यो डबली हस्तान्तरण गरेन । फलतः निर्माण भएको चार वर्ष सम्म डबली बेवारिसे बन्न पुग्यो।अहिले डबली क्षेत्रमा घाँसै घाँस छ । सर सफाइको कमजोर अवस्थाका कारण डबली कुरूप देखिन्छ भने निर्माण भएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन्।

अलपत्र अवस्थामा रहेको डबली सञ्चालनका लागि वर्तमान सरकारले भने प्रक्रिया अगाडी बढाएको छ। प्रदेश सरकारले यो डबली स्थानीय तहलाई जिम्मा दिने प्रक्रिया अन्तिम चरणमा पुराएको छ। 

स्थानीय तिनाउ गाउँपालिकाले यसअघिका सरकार समक्ष डबली सञ्चालनको अधिकार माग गर्दै आएको थियो। तर पालिकाले यो अधिकार पाउन सकेको थिएन। ‘हामीले डबली सञ्चालनको अधिकार हामीलाई दिनुस् भनेर भनेका थियौँ, हामीले पहिलेको सरकारबाट यो अधिकार पाएको भए अहिले डबलीको अवस्था यस्तो रहने थिएन,’ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने ‘अहिलेका उद्योग, पर्यटन तथा यातायात मन्त्री ज्यूले यसको सञ्चालनका लागि धेरै चासो दिनु भयो र पालिकालाई सञ्चालनको अधिकार दिने प्रक्रिया धेरै अगाडी बढिसकेको छ, अब यो डबली सञ्चालनका लागि हामीले अधिकार पाउने सुनिश्चित भएको छ।’

उद्योग पर्यटन तथा यातायात मन्त्रालयले यो डबली  सञ्चालनको अधिकार स्थानीय तिनाउ गाउँपालिकालाई दिने मन्त्री स्तरीय निर्णय गरिसकेको छ । अब पालिकाले सञ्चालनको कार्यविधि बनाएर मन्त्रालयलाई बुझाउनु पर्ने छ।

‘पाल्पाको ऐतिहासिक र धार्मिक पर्यटकीय थलोमा निर्माण भएको सांस्कृतिक डबली अलपत्र परेको अवस्था रहेछ,’ लुम्बिनीका उद्योग ,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘अलपत्र परेको डबली सञ्चालनका लागि स्थानीय तहलाई अधिकार दिनु पर्छ भनेर हामीले निर्णय लियौँ र स्थानीय तिनाउँ गाउँपालिका पनि डबली सञ्चालनका लागि सहमत भएपछि हामीले यसको हस्तान्तरणको प्रक्रिया अगाडी बढाएका हौँ।’

मन्त्री न्यौपानेका अनुसार पालिकाले सञ्चालन कार्यविधि बनाएर मन्त्रालयमा पठाएपछि डबली सञ्चालनको निर्णय मन्त्री परिषद् बैठकबाट हुनेछ।

‘तपाईंहरूले सञ्चालन कार्यविधि बनाएर पठाउनुस्, आगामी मन्त्री परिषद् बैठकबाट निर्णय गराउन म भूमिका खेल्ने छु,’ केही दिन अघि डबली अवलोकनका लागि पाल्पा पुगेका मन्त्री न्यौपानेले भने ‘मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर डबली तत्काल पालिकालाई हस्तान्तरण गर्न हामी आतुर छौँ।’

डबली सञ्चालनमा आयो भन पाल्पाको नुवाकोटमा पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ। मन्त्री न्यौपानेका अनुसार बुटवलबाट नुवाकोट सम्म केबुल कार हालै देखि सञ्चालनमा आएकाले पर्यटकहरूको संख्या नुवाकोटमा बढिरहेको छ। त्यहाँ निजी क्षेत्रबाट हालै मात्रै केबुलकार सञ्चालनमा आएको छ।

‘हालै मात्रै केबुलकार सञ्चालनमा आएकाले अहिले नुवाकोटमा पर्यटकहरूको संख्या बढ्दो छ,’ मन्त्री न्यौपानेले भने ‘नुवाकोटमा डबली सञ्चालनमा आयो भने नुवाकोटमा आउने पर्यटकहरूका लागि अर्को रमणीय थलो बन्ने छ।’ तिनाउ गाउँपालिकाले भने केबुलकार लाई नुवाकोटमा पर्यटकहरू आगमनको बलियो स्रोत मानेको छ।

नुवाकोटमा अहिले पर्यटकहरूको आवागमन बढेकाले डबली सञ्चालन गरेर थप पर्यटक बढाउन सकिनेमा पालिका विश्वस्त देखिन्छ।

‘केबुलकार सञ्चालनमा आएसँगै नुवाकोटमा पर्यटकहरूको चहलपहल बढेको छ,’ पालिकाका अध्यक्ष श्रेष्ठले भने ‘यहाँ आउने पर्यटकहरूलाई एक दिन नुवाकोटमै रोक्नका लागि डबली सञ्चालन अति महत्त्वपूर्ण मानिएको छ, त्यसैले हामीले यसलाई जति सक्यो चाँडो हस्तान्तरण गर्ने गरि काम गरिरहेका छौँ।’

प्रकाशित: २४ कार्तिक २०८१ १८:१९ शनिबार

#palpa #Lumbini Province #the tourist #Ministry of Industry Tourism and Transport