अर्थ

जर्मन विद्यार्थीको निष्कर्ष: कैलालीमा सालको पुनरुत्पादन राम्रो

कैलालीमा सालको पुनरुत्पादन राम्रो रहेको जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका एमएस्सी फरेष्ट्रीमा अध्ययनरत विद्यार्थीहरूको एक अध्ययनले देखाएको छ । धनगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सालको अनुसन्धानमा खटिएका विद्यार्थीहरूले यस्तो बताएका हुन् । 

वन  विज्ञानमा  स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले  कैलालीमा रहेको बाह्र वन साझेदारीमा सालको बिरुवा र रुखमा २१ दिने अध्ययन अनुसन्धान गरेका थिए । विद्यार्थीहरूले नेपालमा साल काठको गुणस्तर राम्रो रहेको र त्यसमा पनि कैलालीमा पुनरुत्पादन राम्रो रहेको अध्ययनबाट देखिएको बताएका छन् । 

अध्ययनमा यहाँको हावापानी र माटो सालको बिरुवा उत्पादनका लागि उपयुक्त रहेको अनुसन्धानमा खटिएका विद्यार्थी हेनरीले बताए । उनले भने, ‘हामीले यहाँको जमिनमा ४ फिट गहिरो र ४ फिट चाक्लो खाडल खनेर त्यहाँको माटोको अध्ययन ग¥यौँ । माटोको अध्ययनका क्रममा जमिनको माथिल्लो सतहमा सालको बिरुवाका साथै अन्य बोट बिरुवाका लागि चाहिने पोषक तत्त्व प्रशस्त मात्रामा भेटियो ।’ 

माटोमा पानी सोस्ने शक्ति र जमिनमुनि पानी जाने सतह पनि राम्रो रहेकाले उक्त माटोमा सालको बिरुवा उम्रने र हुर्कन सक्ने क्षमताको गुणस्तर राम्रो रहेको हेनरीको भनाई छ । ‘चरी चरन, आगलागी र स्याउला संकलनले गर्दा माटोको अम्लीय, क्षारियपना घट्न सक्छ,’ उनले भने, ‘त्यसैले सालको जंगल क्षेत्रमा डढेलो नियन्त्रण तथा खुला चरिचरन बन्द गराउन जरुरी छ ।’ 

आगलागी, चरिचरनले जङ्गलमा चुनौती थपिनुका साथै माटोको गुण बिग्रने र जङ्गलको हैसियत पनि बिग्रने सम्भावना उत्तिकै रहेको पनि उनले बताए । 

अध्ययनकै क्रममा आफूहरूले यहाँको साल धेरै बलियो र घाम पानी सहन सक्ने तथा किरा र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता रहेको अर्की विद्यार्थी लिना प्लिचले बताइन् । उनले भनिन्,‘हामीले बाह्र वन क्षेत्रमा तीन वटा खण्ड छुट्टाएर अध्ययन गरेका हौँ ।’

वैज्ञानिक वन लागू भएको प्लट, संरक्षित वन र अव्यवस्थित वनलाई तुलनात्मक रूपमा अध्ययन गरेको बताउँदै उनले भनिन्, ‘वैज्ञानिक वन लागू भएको प्लटमा पुनरुत्पादनको अवस्था गज्जबको देखियो भने संरक्षित वनमा थोरै राम्रो भए पनि अव्यवस्थित वनमा भने पुनरुत्पादन शून्य जस्तै देखियो ।’ 

खोला किनारको जङ्गलमा भने सिसौ र खयरका रुख तथा बिरुवा देखिएको पनि लिनाले बताइन् । ‘खोला किनारमा सिसौ र खयर छन् भने जङ्गलको भित्री क्षेत्रमा सालका बिरुवाहरू रहेका छन्,’ उनले भनिन् । वैज्ञानिक वन व्यवस्थापन गरिएको जङ्गलमा पुनरुत्पादन राम्रो हुनुका साथै अव्यवस्थित तथा संरक्षित वनमा भने चरिचरनले गर्दा वनको हैसियत बिग्रिएको उनी बताउँछिन् । 

वैज्ञानिक वन व्यवस्थापन भएको प्लटमा प्रति हेक्टरमा दुई सय ८८ वटा सालका नयाँ बिरुवा पुनरुत्पादन भएको तथ्य फेला पारेको बताउँदै लिनाले भनिन्,‘तर अव्यवस्थित वनमा भने प्रति हेक्टरमा २३ वटा सालका नयाँ बिरुवा पुनरुत्पादन भएको देखियो ।’ यसबाट  पनि अव्यवस्थित वन र वैज्ञानिक वन व्यवस्थापनमा सालको बिरुवा पुनरुत्पादनको अवस्थामा आकाश जमिनको फरक पाइएको उनले बताइन् । 

यसका साथै वैज्ञानिक वन व्यवस्थापनको राम्रो बढोत्तरीका लागि के गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको र त्यसमा आफूहरूले अनुसन्धान गरिने उनले बताइन् । साल घाम चाहिने रुख भएकाले खुला क्षेत्रमा सालको उत्पादन तथा वृद्धि विकास छिटो हुने गरेको उनी बताउँछिन् । 

आफूले अध्ययन अनुसन्धान गरेको वनमा सबैभन्दा बढी सालको प्रजाति भेटिएको अनुसन्धानमा खटिएका विद्यार्थीहरूले बताए । अध्ययनमा अव्यवस्थित वन र वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको क्षेत्रमा पुनरुत्पादनको अवस्था धेरै फरक रहेको उनीहरूले बताए । साल सबैलाई मन पर्ने र घरायसी प्रयोजनका लागि पनि साल अत्यधिक काम लाग्ने भएकाले विक्री वितरण गर्दा राम्रो आम्दानी हुने भएकाले यसको व्यवस्थापन जरुरी रहेको उनीहरूको निष्कर्ष छ । 

सालको वनको अध्ययन अनुसन्धानका लागि विद्यार्थीको टोलीमा आएका जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका प्रोफेसर राफ मिट्लोनरले नेपालमा अहिले सालका धेरै रुखहरू बूढा रहेका र त्यही जङ्गलमा वयस्क तथा साना बिरुवाहरू कम मात्रै रहेकोले पनि पुनरुत्पादनमा जोड दिनुपर्ने कार्यक्रममा धारणा राखे । उनले भने,‘एउटा परिवार हुनका लागि ज्येष्ठ, वयस्क तथा बालबालिका हुन जरुरी छ त्यसै गरी एउटा जङ्गल पूर्ण हुनका लागि बूढा रुखदेखि वयस्क तथा बिरुवाहरू पनि हुनु जरुरी छ ।’ 

भावी सन्ततिका लागि पनि सालको जङ्गलमा पुनरुत्पादन हुनु पर्ने बताउँदै उनले भने,‘अहिले हामीहरूका लागि बूढा रुखहरू कामयाबी छन् भने हाम्रा छोरा नातिका लागि वयस्क तथा उनीहरूका पनि छोरा नातिका लागि भर्खरका बिरुवा तयार हुनु जरुरी छ ।’ पुनरुत्पादनमा जोड नदिएमा अबको ४०÷५० वर्षमा सालको रुख लोप हुन सक्ने अवस्था रहने बताउँदै उनले भने,‘इन्डोनेसिया जस्ता देशमा यही गतिमा कटान हुँदै गएमा अबको ५÷१० वर्षपछि साल सकिने छ भने त्यही अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले भावी सन्ततिका लागि सालको रुख जोगाउने या सक्ने भन्ने कुरा यहाँहरूको हातमा छ ।’ कैलालीको हावापानी तथा माटोमा सालको हैसियत राम्रो रहेको र यहाँ पुनरुत्पादन पनि राम्रो भएकाले सबै सरोकारवालाले सालको पुनरुत्पादनमा जोड दिनुपर्ने उनले सुझाए । विद्यार्थीहरूले बाह्र वन साझेदारी वनमा वन स्रोत, माटो विज्ञान, वन सम्बर्द्धन, पुनरुत्पादन, वनको अनुवांशिक, बिरुवाको विविधता, काष्ठ विज्ञान, वन अर्थशास्त्र तथा वन राजनीतिका बारेमा खोज अनुसन्धान तथा सर्भे गरेका हुन् । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैलालीको बाह्र वन सबै प्रजातिका रुखहरू पाइने र जैविक विविधता रहेको वन भएको बताए । कैलालीको बाह्रवनले समग्र सुदूरपश्चिमको .वनलाई प्रतिनिधित्व हुने गरी विद्यार्थीहरूले अध्ययन गरेकोमा धन्यवाद दिए । बाह्र वन सुदूरपश्चिम प्रदेशको पहिलो साझेदारी वन भए पनि सोचे जति काम हुन नसकेको र पछिल्लो समयमा राजनीतिले वनलाई प्रत्यक्ष प्रभाव पारेको पनि उनले बताए ।

कार्यक्रममा बाह्र वन साझेदारी वनका अध्यक्ष ठक्कर शाह, सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरी, सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी, भार ताल साझेदारी वनका अध्यक्ष यादव भण्डारी, डल्फिन संरक्षण क्षेत्रका अध्यक्ष विजयराज श्रेष्ठ, पत्रकार पुष्पराज जोशीले राय तथा सुझाव दिएका थिए । सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

प्रकाशित: २२ कार्तिक २०८१ १४:३६ बिहीबार

#forest #Kailali