अर्थ

नेपालमा लगानी गर्न आग्रह

फाइल फोटो

काठमाडौं – उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी छिन्।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले नयाँदिल्लीमा शुक्रबार आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष राणाले नेपालमा लगानी गरेर ढुक्क हुन भारतीय लगानीकर्तालाई आग्रह गरेकी हुन्।

‘नेपालमा स्थिर सरकार आएको छ भने प्रधानमन्त्रीबाट मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासन कायमको प्रतिबद्धता आएको छ,’ राणाले भनिन्, ‘प्रधानमन्त्री ओलीज्यूको नेतृत्वमा अब नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने निश्चित छ।’

नेपाल र भारत दुवै प्राकृतिक स्रोत–साधनले भरिपूर्ण र युवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राणाले राखिन्। ‘हामीसँग रहेका अपार स्रोतको अधिकतम उपयोगमार्फत नेपालीको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अगाडि बढ्नुपर्छ,’ उनले भनिन्, ‘भातरले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधैं लालायित छ।’

अध्यक्ष राणाले नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन्। दुई देशका निजी क्षेत्रबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको र आपसी सहकार्यका क्षेत्र विस्तार तथा सहकार्यका नयाँ क्षेत्र पहिचानमा समेत उनले जोड दिइन्। ‘अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रका रूपमा अगाडि बढिरहेको भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको छ,’ उनले भनिन्।

अध्यक्ष राणाका अनुसार आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडि बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसँगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय भएको छ। ‘नेपालको समृद्धिको चाहना पूरा गर्न भारतीय लगानीकर्तालाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गर्दछु,’ उनले भनिन्, ‘नेपालमा लगानी गर्न अहिलेको जस्तो उपयुक्त समय यसअघि कहिल्यै थिएन।’

भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्था भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचामले संयुक्त रूपमा आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै राणाले नेपालमा लगानी वृद्धि गर्न अब ढिला गर्न नहुने धारणा राखिन्।

राणाका अनुसार सेवामूलक, उत्पादनमूलक र कृषि प्रशोधनलगायत क्षेत्रमा स्थानीय लगानी बढ्दै गएको छ। नेपालले यतिखेर खासगरी ऊर्जा, पूर्वाधार र ठूला उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको छ भने यसका अतिरिक्त पर्यटन क्षेत्रतर्फ धार्मिक पर्यटनजस्तो बुद्धिस्ट सर्किट, रामसीता जन्मभूमि सर्किटमा आपसी सहकार्य हुनसक्ने बलिया आधार छन्।

सरकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेका कारण लोडसेडिङ अन्त्य भएर उद्योग–व्यवसायको क्षमतामा समेत सुधार आएको छ। ‘ऊर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगािड बढेका कारण आगामी दिनमा निकै धेरै उद्योग आउनुका साथै उत्पादन क्षमतामा पनि वृहत सुधार आउने अपेक्षा छ,’ उनले भनिन्।

विभिन्न चुनौतीका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानले निके धेरै लाभ उठाउन सकेको उदाहरण दिँदै अध्यक्ष राणाले ती उद्योगले आफ्ना परियोजना समेत विस्तार गर्दै गएको बताइन्। त्यसबाहेक पनि नेपालले निकै नै धेरै लगानी खोजिरहेको नेपाललाई सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई उनले आग्रह गरिन्।

महासंघको टोलीमा पूर्वअध्यक्षहरू चण्डिराज ढकाल र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा कार्यकारिणी समिति सदस्य सहभागी छन्।

त्यसैगरी नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डल पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणमा सहभागी छ। परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेतृत्व गरेको टोलीमा उपाध्यक्षहरू विष्णु अग्रवाल, निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र सुलभ अग्रवाललगायत सहभागी छन्।

भारतीय निजी क्षेत्रसँग गरिने छलफलमा नेपालको भारतसँगको व्यापार घाटा कम गर्ने, भन्सार विन्दुमा भएका समस्या, यातायात र पारवहन क्षेत्रका समस्या, लगानी अभिवृद्धि गर्ने ठोस उपाय र रेलवे सम्झौता, बल्क कार्गोबारे दुवै देशका निजी क्षेत्रका संस्थाबीच सहकार्य गरी सुधार र समान विषयजस्ता अजेन्डा उठाइने परिसंघले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०५:५८ आइतबार

नेपालमा लगानी गर्न आग्रह