अर्थ

सुपर त्रिशूली जलविद्युत्आ योजनाको काम २० प्रतिशत मात्र

गोरखाको गण्डकी गाउँपालिका १ स्थित बुटारमा पर्ने १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाको काम २० प्रतिशत मात्र सकिएको छ।चार वर्षभित्र सक्ने गरी निर्माण थालिएको ब्लु इनर्जी प्रालीले डेढ वर्ष सकिँदा कामको प्रगति २० प्रतिशत मात्र भएको जनाएको छ।

सुपर त्रिशूली जलविद्युत् आयोजनाका जिओ टेक्निकल प्रमुख तथा वरिष्ठ इन्जिनियरिङ भूगर्भशास्त्री दिव्यराज पन्तका अनुसार कामको प्रगति असोजमा त्रिशूलीमा आएको बाढीको कारण लक्ष्यअनुसार हुन सकेको छैन।अहिलेसम्म २५ प्रतिशत प्रगति हुनुपर्ने हो।यद्यपि तीन वर्षभित्र आयोजनाको काम सम्पन्न हुने जानकारी पन्तले दिए।

अहिले ड्याम बनाउन त्रिशूलीको पानी सुकाउने काम भइरहेको छ।केही दिनमा पानी सुकाएर ड्यामको काम सुरु हुने उनले बताए।यसअघि विद्युत्गृह निर्माणका लागि जग खन्ने काम, गोरखाको गण्डकी गाउँपालिका (बुटार) र चितवनको इच्छाकामना गाउँपालिका (चुम्लिङटार) जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज बनिसकेको छ।

सुपर त्रिशुली जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माण नगरी नदी प्रवाह (रन अफ द रिभर) मा आधारित यो आयोजना नै नेपालको पहिलो जलविद्युत् आयोजना भएको दावी आयोजनाले गरेको छ।२४.५ मिटर उचाइ उठाएर ड्याम बनाउने उनले बताए।ड्यामको फेदमै पावरहाउस निर्माण हुनेछ।३३.३ वाटका तीन वटा युनिट निर्माण हुनेछन्।

‘जलविद्युत्को पानीको सतहले साढे तीन किलोमिटरसम्म रनअफ हुन्छ।पानीको सतह रोक्न १४ बाई १२ मिटरका पाँच वटा गेटसमेत बन्दैछन्।यी गेट स्वचालित हुन्।पानी आएपछि आफैं गेटका ढोका खुल्ने छन्’, उनले भने ‘ठूलो बाढी आएको जानकारी दिन बेनीघाटमा मेसिन समेत राखेका छौं ।’ बेनीघाटबाट इच्छाकामना गाउँपालिका ३ र गण्डकी गाउँपालिका १ स्थित निर्माणधीन स्थालमा पानी आइपुग्न डेढ घण्टा लाग्ने उनले बताए।

त्रिशुलीमा प्रतिसेकेण्ड नौ हजार आठ सय क्युसेक क्षमताको ड्याम निर्माण गरिने उनको भनाइ छ।यहाँ अहिलेसम्म प्रतिसेकेन्ड पाँच हजार क्युसेकसम्मको मापन गरिएको छ।हाल त्रिशूलीमा प्रतिसेकेन्ड ६ सय क्युसेक पानी रहेको छ।निजी व्यक्तिको ४० रोपनी र सरकारी जमिन २२ सय हेक्टर जमिन खरिद गरेर आयोजना सञ्चालन गर्न लागिएको हो।करिब १६ अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना ३५ वर्षपछि सरकारलाई हस्तान्तरण हुनेछ।यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिने छ।हाललाई तनहुँको खैरहनीस्थित मार्की चोकको प्रसारण लाइनमा जडानको सहमति भएको छ।आयोजना बनेपछि स्थानीयले बहुपक्षीय लाभ लिन सक्नेछन्।डेढ वर्ष अघिदेखि निर्माण कार्य थालिएको यो आयोजनाले सन् २०१० देखि सन् २०१८ सम्म स्थलगत अध्ययन गरेको थियो।वातावरण प्रभाव मूल्यांकनको अनुमति पाएपछि कम्पनीले विश्व बैंक ग्रुपको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन ९आइएफसी०को आर्थिक सहयोगमा निर्माण थालेको हो।वातावरणीय प्रभाव मूल्यांकन, ग्रिड कनेक्सन एग्रिमेन्ट र लगानीको लागि ऋण सम्झौता भएपछि २०२३ मार्च १६ मा सम्झौता भएर काम अघि बढेको उनले बताए।

कम्पनीले सन् २००९ सालमै सर्भे लाइसेन्स लिएको थियो।सन् २०१५को भूकम्प अगाडि टेन्डर निकालेर चाइनिज कम्पनीलाई काम दिइएको थियो तर कोरोनाका कारण चाइनिज कम्पनीले काम सम्पन्न गर्न सकेन।त्यसपछि अन्तर्राष्ट्रिय कम्पनी एसएनसी लेभलिङले यस परियोजनाको काम अध्ययन अगाडि बढाएको उनले बताए।अहिले भारतीय कम्पनी ट्रयाटेबल इन्जिनियरिङ कम्पनीले कन्स्ट्रक्सनको काम हेरिहेको छ।माछालाई आवतजावतमा अवरोध नहोस् भन्ने उद्देश्यले बाँधमा माछाको भर्‍याङ राख्ने व्यवस्था समेत गरिने उनले बताए।पाँच वटा बाँधमध्ये एउटामा माछाको भ¥याङ राखिने भएको छ।

बाढीले १५ करोडको क्षति  

गत असोजमा आएको बाढीका कारण सुपर त्रिशूली जलविद्युत् आयोजनामा १५ करोड हाराहारीमा क्षति पुगेको बताइएको छ।जिओ टेक्निकल प्रमुख पन्तका अनुसार, भौतिक तथा निर्माण सामग्री गरी १५ करोड बराबरको क्षति पुगेको हो।उनका अनुसार तीन वटा ट्रिपर, दुईटा एक्साभेटर, गिट्टी, बालुवा कुट्ने मेसिन र निर्माण सामग्री त्रिशूलीले बगाएर लागेको छ।त्यस्तै जलविद्युत् निर्माणका लागि तयार पारिएको भौतिक संरचनामा समेत क्षति पुगेको उनले बताए ।

प्रकाशित: १४ कार्तिक २०८१ ०८:५४ बुधबार

#trishuli