अर्थ

भैरहवामा उडान हुँदै,पोखरामा तालिका नै छैन

पूर्वाधार विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो। त्यसका लागि सरकारले ती विमानस्थलमा उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष किसिमको सहुलियतसहितको प्याकेज दिने निर्णयसमेत केही महिना अघि गर्‍यो।  

सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको थियो। यस्तै हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ। सरकारको सहुलियत २०८३ भदौसम्म लागु हुनेछ ।  

निर्णयसँगै विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न सरकारले प्रोत्साहन पनि ग¥यो। सरकारी प्याकेजसँगै कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी पनि थालेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने अहिलेसम्म उडान गर्नका लागि कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित रूपमा निवेदन नदिएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित निवेदन दिएका छैनन्,’ भुलले भने, ‘प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको उडान समय घटाएसँगै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई विकल्प दिएका हौं तर अहिलेसम्म कुनै कम्पनी पोखरा आउन मानेका छैनन् ।’ काठमाडौंको चाप घटाएर पोखरा र भैरहवामा सार्न खोजिएको भए पनि पोखरामा नआएको उनले बताए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँच महिना दिनमा १० घण्टा बन्द हुँदैछ। राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ। जसले गर्दा रातीको त्यो समयमा उडान भर्ने वायुसेवा कम्पनीले निर्धारित उडानको समय परिमार्जन गर्नुपर्नेछ। 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राती २ बजेसम्म चल्दै आएको छ। पोखरा र गौतमबुद्धमा उडान होस् भनेर ल्यान्डिङ र पार्किङसहितका शुल्कमा छुट दिएर वायुसेवा कम्पनीलाई आकर्षित गर्न खोजे पनि केन्द्रीकृत मानसिकताले गर्दा हवाई कम्पनी पोखरा जान नमानेको उनले बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका काम पनि भविष्यमा हुने उडान सञ्चालनमा थप सहजीकरणका लागि भएको बताए। ‘काठमाडौंमा साँघुरो भयो भनेर विकल्प दिइएको हो तर हवाई कम्पनी बाहिर जान मानेनन्,’ उनले भने।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ। सन् २०२३ को जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सञ्चालनमा आएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन। आन्तरिक उडानमा भने पोखराले पहिले भन्दा आकार फराकिलो बनाइसकेको छ।  

पर्यटन क्षेत्र भने गण्डकी प्रदेशको पर्यटन अप्ठेरो अवस्थामा परिसक्दा पनि व्यवसायीले अन्तर्राष्ट्रिय पहुँचमा पोखरा सिधै जोडिन नसक्दा तेस्रो मुलुकबाट भित्रिने विदेशी पाहुनालाई सिधै पोखरा उतार्न नसकेको बताइरहेका छन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवधि घट्दा केही हवाई कम्पनी पोखरा आउनेमा आशावादी थियौं तर कुनै पनि हवाई कम्पनी पोखरा आउन मानेनन्। यसमा दबाब दिन पनि सकिएन। पहुँच नपुगेकै हो,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्यसमेत रहेका व्यवसायी बासु त्रिपाठी नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा ल्याउने पहल नै कम भएको बताउँछन्। ‘सरकारले गरेको एउटै निर्णयले भैरहवामा उडान हुने तर धेरै पर्यटक भित्रिने पोखरामा उडान नै नहुने भन्नै मिल्दैन। त्यसका लागि पहल कम भएको हो,’ उनले भने, ‘सम्बन्धित निकाय नै पोखराप्रति गम्भीर देखिएको छैन। पोखरामा उडान गर्न कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनी इच्छुक नभएको भन्ने देखाउने प्रयास मात्र भएको छ ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा प्राधिकरणले समेत चासो कम दिएको आरोप त्रिपाठीले लगाए।  

‘पोखरा सबैखाले पर्यटकको गन्तव्य हो तर, भैरहवा विशेष पाहुनाको मात्र गन्तव्य हो। त्यसैले पोखरामा पर्यटक आउन नचाहने भन्ने होइन,’ उनले भने, ‘पाहुना पोखरा आउन चाहन्छन् तर, उडान कूटनीतिमा कमजोरी भएकै हो ।’ राजनीतिक पहुँचमा पहल पनि कमजोर भएको उनले बताए। ‘पोखराका लागि राजनीतिक पहुँच नपुगेको पनि हो। गण्डकी प्रदेश सरकारले पनि दबाब दिन सक्नुपर्छ। निजी क्षेत्रको पनि केन्द्रसँग दूरी टाढा देखियो’, उनले भने, ‘प्रदेश सरकार र पर्यटन क्षेत्रले पनि केन्द्रसँग ताकेता गर्न नसकेकै हो ।’  

प्रकाशित: १४ कार्तिक २०८१ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App