अर्थ

खेतमै उखु सुक्दा किसान चिन्तित

चिनी मिल सञ्चालकको लापरबाहीले खेतमा सुक्ने अवस्थामा पुगेको उखु देखाउँदै बरैनियाका किसान। तस्बिर : नागरिक

बारा – उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन्। कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन्।

रिलायन्सले बारा र पर्साका हजारौ किसानको उखु खरिद गरी क्रसिङ गर्ने प्रतिबद्धता जनाएको थियो। तर प्रतिबद्धताविपरित रिलायन्सले उखु किसानलाई समयमै चलान नदिएर समस्यामा पारेका किसनाको भनाइ छ। यसले किसानको नगदे बालीका रुपमा रहेको उखुको लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ।

‘बारा र पर्साका किसानसँग गरेको सम्झौताअनुसार चिनी मिलले सुरुमै यस क्षेत्रका किसानको उखु खरिद गर्नुपथ्र्यो,’ बन्जरियाका उखु किसान बिक्रम राउतले भने, ‘चिनी मिलले उखु खरिद गर्नका लागि किसनालई चलान नै दिएन।’ माघ र फागुन महिनातिर चिनी मिलले हामीलाई चलान नदिएर सस्तोमा भारत र रौतहटबाट उखु खरिद गरेको किसानको आरोप छ। यसले किसानको हजारौं हेक्टरमा लगाइएको उखु सुक्ने अवस्थामा पुगेको राउतले बताए।

अहिले गहुँलगायत अन्य अन्नबाली भित्र्याउने समय भएकाले किसानलाई उखु तयार गरी बिक्रीका लागि चिनी मिलसम्म पु-याउने फुर्सद नभएको राउतले बताए। चिनी मिल सञ्चालकले बढी नाफामुखी यवहार दखाएको राउतको भनाइ छ।

सरकारले चालु आवका लागि उखुको मूल्य पाँच सय ४० रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेकाले किसानले पनि सोही मूल्य कायम गर्न माग गरेका छन्। तर, रिलायन्सले यहाँका किसानलाई समयमै चलान नदिई जिल्ला बाहिरका किसानबाट चार सय ३० देखि चार सय ५० रुपैयाँमा उखु खरिद गरिरहेको किसानको आरोप छ।

रिलायन्सका सञ्चालक राजकुमार अग्रवालले उद्योगका कर्मचारी मनोज पौदार, ओमप्रकाश शुक्लालगायत कर्मचारीलाई रकम उपलब्ध गराएर विभिन्न माध्यमबाट उखु खदि गरिरहेको किसानको आरोप छ। ती कर्मचारीले कालोबजारी गरी किसानबाट नगदमै उखु खरिद गरी मिलमा ल्याउने गर्दा दुई साताअघि किसानहरुले चिनी मिल घेराउ गरेका थिए।

चिनी मिलले सस्तोमा उखु खरिद गर्दै क्रसिङ गरिरहेकाले सरकारले निर्धारण गरेको मूल्यमा उखु बिक्री गर्ने किसानलाई समेत चलान उपलब्ध गराउन आलटाल गर्ने गरेको किसानको आरोप छ। त्यसपछि बारा, पर्साका किसानले चिनी मिल घेराउ गर्दा मिल प्रशासनले किसानलाई चलान दिने प्रतिबद्धता जनाएको थियो।

उखु उत्पादक महासंघ बाराका सहसचिव गोरख यादवले रिलायन्स चिनी मिलले सुरुमै भारत र रौतहटबाट सस्तोमा उखु खरिद गरी क्रसिङ गरेकाले अहिले यस क्षेत्रका धेरै किसानको उखु खेतमै रहेको बताए। ‘मिलले यस क्षेत्रका किसानबाट उखु  खरिद गर्नका लागि उपलब्ध गराउने चलान नदिँदा नै अहिले यो समस्या आएको हो,’ सहसचिव यादवले भने।

सुरुमा यहाँका किसानलाई चलान दिएर पनि मिलले उखु खरिद नगर्दा किसानको खेतमा अहिले चार लाख क्विन्टलभन्दा बढी उखु बाँकी रहेको अनुमान गरिएको छ। खेतमा बाँकी रहेको सबै उखु खरिद गर्न चिनी मिललाई आग्रह गरेको यादवको भनाइ छ। बारा र पर्साका एक हजार किसानको खेतमा बिक्रीका लागि तयारी अवस्थामा उखु रहेको यादवले बताए।

तर, रिलायन्स चिनी मिलका उखु प्रबन्धक ओमप्रकाश शुक्लाले बारा र पर्साका किसानको खेतमा बाँकी रहेको उखु खरिद गरी क्रसिङ गर्ने काम भइरहेको बताए। चिनी मिलका कारण कसैको पनि उखु खेतमै रहने अवस्था नआउने उनले बताए। ‘किसानले आफैं चिनी मिलसम्म उखु पु¥याउन नसके त्यसको जिम्मेवारी मिलले लिन सक्दैन,’ शुक्लाले भने।

चिनी मिलले चालु सिजनमा लक्ष्यअनुसार २७ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि बाहिरबाट सस्तोमा खरिद गरी ल्याएकाले लक्ष्यभन्दा बढी पुग्ने चिनी मिलका कर्मचारी बताउँछन्। मिलले सिजनको सुरुमा दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गरे पनि गर्मी बढेपछि अहिले दैनिक २२ हजार क्विन्टल उखु क्रसिङ भइरहेको मिलले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०५:१४ आइतबार

खेतमै उखु सुक्दा किसान चिन्तित