अर्थ

नयाँ वर्षमा सडक खाना महोत्सव

बनेपा – धुलिखेलमा पर्यटक तान्न यहाँका संघ–संस्थाले प्रत्येक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन पर्यटन मेला तथा सडक खाना महोत्सव गर्ने भएका छन्।

काठमाडौं उपत्यकासँगैको प्राचीन नेवारी सहर भएर पनि धुलिखेलको प्रचारप्रसार हुन नसकेको भन्दै आगामी पाँच वर्षसम्म नागरिकस्तरबाटै महोत्सव गर्ने लक्ष्य राखिएको संयोजक श्रवणकुमार तखाछेँ श्रेष्ठले जानकारी दिए। ‘समृद्ध धुलिखेलका लागि पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र आवास नारासहित यसै वर्षदेखि सडक खाना महोत्सवको आयोजना गर्न लागेका हौं। धुलिखेलका सांस्कृतिक सम्पदा, रहनसहन, चाडवाड र खानपानबारे धेरैभन्दा धेरै आगन्तुकलाई जानकारी गराउनु प्रमुख लक्ष्य हो,’ उनले भने।

धुलिखेलको सरस्वतीबजारदेखि नारायणस्थान, लगन डबली हुँदै भित्री बाटो, बिपी राजमार्गसम्मका विभिन्न चोकमा रहने ४० भन्दा बढी स्टलमा धुलिखेलका रैथाने नेवारी, तामाङ र अन्य जातजातिका विशेष परिकार राखिने उनले बताए। ‘धुलिखेलमा मनाइने कृष्ण जात्रा, भगवती जात्रा, लाखे नाच र घन्टाकर्ण जात्राको प्रतिरुपका साथै गुठी, सुकुल भोज र पुराना बाजागाजासमेत प्रदर्शन गरिनेछ,’ श्रेष्ठले थपे।

यस्ता महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रीय होटेल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठको भनाइ छ। ‘धुलिखेल आउने पर्यटकले पुरानो सहर भएकाले यहाँका घर, मठमन्दिर, रहनसहन र खानाबारे सोधखोज गर्छन्। बेलाबखत हुने महोत्सवले उनीहरुको जिज्ञासा मेट्न सजिलो पनि हुन्छ,’ उनले थपे।

धुलिखेलको पुरानो बजार र त्यस क्षेत्रमा रहेका पुरातात्विक घर तथा मन्दिरको मर्मत सम्भारमा नगरपालिकाले समेत सहयोग गरेको वडा नं ७ का अध्यक्ष रोमीप्रसाद ब्यान्जूले जानकारी दिए।

सूर्याेदयको मनमोहक दृश्यावलोकनका साथै दर्जनौं हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने स्वच्छ, शान्त रमणीयस्थल धुलिखेलले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पछिल्लो समयमा काठमाडौ सा“खुबाट लप्सेफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म ‘भिलेज टे«किङ रुट’ बनेपछि धुलिखेल आउने र यहाँ हुँदै अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटक संख्या बढिरहेको छ।

हाल धुलिखेल आउने पर्यटकमा ६० प्रतिशत स्वदेशी र विदेशी ४० प्रतिशत हुन्छन्। ‘चैत ३० गतेको सूर्यास्त हेर्दै वर्षको बिदाइ र भोलिपल्टको सूर्योदयको स्वागतका लागि देवीस्थानमा व्यवस्था मिलाएका छौं। धुलिखेलमा हेर्ने र सिक्ने धेरै कुरा छन् भनेर देखाउनु पनि थप उद्देश्य रहेको छ,’ आयोजक सदस्य समिर ब्याञ्जु श्रेष्ठले भने। महोत्सवलाई धुलिखेल नगरपालिका, क्षेत्रीय होटेल संघ, महिला समूह तथा २० भन्दा बढी संघ–संस्थाको सहयोग छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App