अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडान गर्न कोही तयार भएनन्

भैरहवामा भने उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

पूर्वाधार बिस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो।

त्यसका लागि सरकारले ती विमानस्थलमा उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष किसिमको सहुलियत सहितको प्याकेज दिने निर्णय समेत केही महिना अघि गर्‍यो।

सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको थियो।

यस्तै, हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ। सरकारको सहुलियत २०८३ भदौसम्म लागु हुनेछ।

निर्णयसँगै विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न सरकारले प्रोत्साहन पनि गर्‍यो। सरकारी प्याकेजसँगै कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी पनि थालेका छन्।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने अहिलेसम्म उडान गर्नका लागि कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित रुपमा निवेदन नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित निवेदन दिएका छैनन्,’ भुलले भने, ‘प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय घटाएसँगै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्प दिएका हौं। तरपनि अहिलेसम्म पोखरामा आउन मानेका छैनन्।’

काठमाडौंको चाप घटाएर पोखरा र भैरहवामा सार्न खोजेको भएपनि पोखरामा नआएको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँच महिना दिनमा १० घण्टा बन्द हुँदैछ।

राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ। जसले गर्दा रातीको त्यो समयमा उडान भर्ने वायुसेवा कम्पनीहरूले निर्धारित उडानको समय परिमार्जन गर्नुपर्नेछ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राती २ बजेसम्म चल्दै आएको छ।

पोखरा र गौतमबुद्धमा उडान होस भनेर ल्याण्डिङ, पार्किङ सहितका शुल्कमा छुट दिएर वायुसेवा कम्पनीलाई आकर्षण गर्न खोजे पनि केन्द्रीकृत मानसिकताले गर्दा हवाई कम्पनी पोखरा जान नमानेको उनले बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका काम पनि भविष्यमा हुने उडान संचालनमा थप सहजीकरणका लागि भएको बताए। ‘काठमाडौंमा साँघुरो भयो भनेर विकल्प दिइएको हो, तर, हवाई कम्पनी बाहिर जान मानेनन्,’ उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ। सन् २०२३ को जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। संचालनमा आएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन। आन्तरिक उडानमा भने पोखराले पहिले भन्दा आकार फराकिलो बनाईसकेको छ।

पर्यटन क्षेत्र भने गण्डकी प्रदेशको पर्यटन अप्ठेरो अवस्थामा परिसक्दा पनि पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म सिधै पहुँच पुर्‍याउने पहल नभएको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘राजनीतिक रुपमा गण्डकी प्रदेशले केन्द्रसम्म पहुँच पुर्‍याउनै सकेन। त्यसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई पोखरा उतार्ने प्रयास नै कतैबाट भएन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार गर्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई काठमाडौंको उडानलाई घटाएर पोखरा र भैरहवामा डाइभर्ट गर्न आग्रह गरेपनि पोखरामा नआएको उनले बताए।

‘भैरहवाबाट अहिले नै तीनवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्ने निश्चित गरिसकेका छन्। तर, पोखरामा कुनैपनि हवाई कम्पनी आउन इच्छुक भएनन्। यसको कारण भनेको पहल कम भएको हो,’ उनले भने, ‘हामी व्यवसायी कराएर मात्र हुँदैन। राजनीतिक रुपमा पहुँच पुर्‍याउन सकिएन। जसले गर्दा हवाई कम्पनी काठमाडौंबाट बाहिरिन चाहेनन्।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय कटौती हुँदै गर्दा अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा ल्याउन सकेको भए गण्डकी प्रदेशको पर्यटन क्षेत्रले फड्को मार्ने अवस्था आउने भएपनि अहिले त्यो हुन नसकेको उनले बताए। ‘राज्यलाई घच्घचाउने गरि राजनीतिक रुपबाट पहुँच नपुगेसम्म पोखरामा अन्तर्राष्ट्रिय हवाई कम्पनी आउने सम्भावना देखिन्न,’ उनले भने।

व्यवसायीले अन्तर्राष्ट्रिय पहुँचमा पोखरा सिधा रुपमा जोडिन नसक्दा तेस्रो मुलुकबाट भित्रिने विदेशी पाहुनालाई सिधै पोखरा उतार्न नसकेको बताइरहेका छन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवधि घट्दा केही हवाई कम्पनी पोखरा आउनेमा आशावादी थियौ। तर, कुनैपनि हवाई कम्पनी पोखरा आउन मानेनन्। यसमा दबाब दिन पनि सकिएन। पहुँच नपुगेकै हो,’ उनले भने।

पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका व्यवसायी बासु त्रिपाठी नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा ल्याउनका लागि पहल नै कम भएको बताउँछन्। ‘सरकारले गरेको एउटै निर्णयले भैरहवामा उडान हुने, तर, धेरै पर्यटक भित्रिने पोखरामा उडान नै नहुने भन्ने भन्न मिल्दैन।

त्यसका लागि पहल कम भएको हो,’ उनले भने, ‘सम्बन्धित निकाय नै पोखराप्रति गम्भीर देखिएको छैन। पोखरामा उडान गर्न कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनी इच्छुक नभएको भन्ने देखाउने प्रयास मात्र भएको छ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा प्राधिकरणले समेत चाँसो कम दिएको त्रिपाठीले आरोप लगाए।

‘पोखरा सबै खाले पर्यटकको गन्तव्य हो। तर, भैरहवा विशेष पाहुनाको मात्र गन्तव्य हो। त्यसैले पोखरामा पर्यटक आउन नचाहने भन्ने होईन,’ उनले भने, ‘पाहुना पोखरा आउन चाहन्छन्। तर, उडान कूटनीतिमा कमजोरी भएकै हो।’

राजनीतिक पहुँचमा पहल पनि कमजोर भएको उनले बताए। ‘पोखराका लागि राजनीतिक पहुँच नपुगेको पनि हो। गण्डकी प्रदेश सरकारले पनि दबाब दिन सक्नुपर्छ। निजी क्षेत्रको पनि केन्द्रसँग दूरी टाढा,’ उनले भने, ‘प्रदेश सरकारले केन्द्रसँग ताकेता गर्न  सकेन। पर्यटन क्षेत्रले पनि ताकेता गर्न नसकेकै हो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवधि खुम्चिएको बेला पोखराका लागि अहिले अन्तर्राष्ट्रिय उडान भित्र्याउने गतिलो मौका भएपनि त्यो चुकेको उनले बताए।

‘नेपाल भित्रिएका विदेशी पाहुनामध्ये करिब आधा पाहुना पोखरा आउने अवस्थामा पनि उडान गर्न नसकेर अवसर चुकाउनुपरेको छ,’ उनले भने, ‘पोखराले अन्तर्राष्ट्रिय उडानको पहुँच बिस्तारको मौका गुमाएको छ।’

प्रकाशित: ११ कार्तिक २०८१ १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App