अर्थ

टीकापुर विमानस्थलमा १० वर्षपछि परीक्षण उडानको तयारी

टीकापुर विमानस्थलमा कात्तिक ११ गते फेरी एक पटक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई कात्तिक ९ गते चलानी नम्बर ८३३ को एक पत्र पठाई परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । उसले प्राधिकरणको सर्त र अधीनमा रहेर परीक्षण उडान गर्न भनेको छ । पत्रमा परीक्षण उडान पश्चात् प्रतिवेदन तयार पारेर बुझाउन समेत भनिएको छ । 

प्राधिकरणले नेपालगन्ज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरूको सुनिश्चितता भएपश्चात् परीक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ । 

सो प्रतिवेदनमा हवाई मैदान भित्रको निर्माण सामाग्री हटाउने, दुईतर्फको बाटो बन्द गर्ने, धावन मार्गका खाल्डा पुर्ने, झारपात उखेल्नु पर्ने उल्लेख थियो । प्रतिवेदन प्राधिकरणको प्राविधिक टोलीले तयार पारेको थियो । प्रतिवेदन अनुसारका कामहरू भइरहेका छन् ।

वि.सं. २०४२ सालमा सञ्चालनमा आएर २०५४ साल देखी बन्द अवस्थामा रहेको विमानस्थलमा २०७१ सालमा तारा एयरले परीक्षण उडान भरेको थियो । तत्कालीन टीकापुर विमानस्थल सञ्चालन समितिले परीक्षण उडानको व्यवस्था गरेको थियो ।

सो समितिले टीकापुर–काठमाडौं उडानका क्रममा १३ सिट बराबरको टिकट रकम तिर्ने सहमति गरेको थियो । सहमति अनुसार त्यो बाहेकको सिट र काठमाडौं–टीकापुर उडानको जिम्मा भने एयरलाइन्स स्वयम्को थियो ।  तारा एयरले हिम्मत गर्न सकेन । एक दुई पटक खाली खाली टीकापुर पुगेको तारा एयरको जहाज त्यसपछि फर्केर आएन । अहिलेसम्म अन्य विमान कम्पनीले समेत टीकापुर विमानस्थलमा उडान भर्ने बारेमा चासो दिएको पाइँदैन । 

प्रकाशित: १० कार्तिक २०८१ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App