अर्थ

स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ

स्याउ ढुवानी गर्दै जुम्ली किसान । तस्बिर :गोल्डेन बुढा /नागरिक

जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको छ।

तथ्याङ्क अनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो। जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको छ।जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको हो। बगैँचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए।बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६ सय ६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो।

मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो। ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले बताए।उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो। 

प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्याङ्क सङ्कलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो। फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख छ।जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ।जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ। स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन्।

जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए।उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोसिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ।’व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन्। कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो। तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन्।

स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् ।उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक(पटक आग्रह समेत गरिरहेका छन्।

प्रकाशित: ९ कार्तिक २०८१ २१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App