अर्थ

क्यान विभाजन विधेयक तयार भइरहेको छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागारिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार भइरहेको बताएका छन्।

वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरूबारे जानकारी दिँदै मन्त्री पाण्डेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रूपमा विकास गर्ने विधेयक तयार भइरहेको बताएका हुन्।

मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई सुरक्षा चासोलाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा स्थापित गर्न कानूनी प्रक्रिया अघि बढाएको बताए।

यस्तै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जस्ता दुरगामी महत्त्वका काम भइरहेको जानकारी सम्मेलनमा मन्त्री पाण्डेले गराए।

यसैबीच मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको बताए। साथै नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औंल्याएका विषयमा समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि जानकारी दिएका छन्।

‘नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ।’ मन्त्री पाण्डेले भने, ‘नेपाल नाागरिक उडड्यन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दाे एवम् विश्वसनीय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं।’

उनले उडड्यन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, संघीय संसद्मा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेस गरिएको जानकारी गराए। ती विधेयकहरू संसद्को आगामी अधिवेशनमा पेस भई परित गर्न पहल गरिने जानकारी पनि मन्त्री पाण्डेले दिएका छन्।

यसै गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहनसहितको कार्ययोजनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एयरवेजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे।

‘आन्तरिक वायुसेवाले व्यहोर्नु पर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकुल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ।’ उनले भने, ‘यसको कार्यान्वयनबाट हवाई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बिमा रकममा उल्लेख्य वृद्धि हुनेछ।’

यसैबीच देशका विभिन्न भागमा आएको बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको उनले बताए।

उक्त अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए। यस्तै नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेसिया बीचद्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको समेत मन्त्री पाण्डेले जानकारी गराए।

प्रकाशित: ९ कार्तिक २०८१ ०९:०७ शुक्रबार