अर्थ

माथिल्लो तमोर जलविद्युत् आयोजनाले सिआरसीमा मात्रै ३२ करोड खर्च गर्ने

स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रम (सिआरसी) का लागि  मात्र ३२ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

तमोर इनर्जी प्रालि मुख्य प्रवद्र्धक रहेको आयोजना ताप्लेजुङ भएर बग्ने तमोर नदीको पानी उपयोग गरेर बनाइने छ। यो आयोजना ‘अर्ध जलाशययुक्त’हुने प्रवद्र्धक तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिए।

उनले सामुदायिक उत्तरदायित्व कार्यक्रमको आधा हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्नेगरी प्रस्ताव पनि गरेका छन्।

आयोजनाका बारेका सरोकारवालालाई जानकारी दिने तथा सुझाव ग्रहणका लागि फुङलिङमा आयोजित कार्यक्रममा बोल्दै ढुङगानाले सो आयोजनाका लागि कूल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको बताए।

उनका अनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने छ। बैंक तथा वित्तीय संस्थाहरुमार्फत ३८ अर्ब ६० करोड रुपैयाँ र स्व पुँजीमार्फत् १६ अर्ब ५५ करोड लगानी जुटाउने तयारी रहेको ढुङगानाले बताए।

उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापनको अगुवाई एभरेष्ट बैंकले गर्ने भएको छ। कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल)को सहायक भूमिका रहने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक र गरिमा बैंक समेत लगानी साझेदार वित्तीय संस्था रहने छन्। आयोजना निर्माणको क्रममा २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ।

अति प्रभावित, प्रभावित, ताप्लेजुङ जिल्ला र अन्य जिल्लाका नागरिकले समेत शेयर लिन पाउनेगरी शेयर हिस्सा विभाजन गर्ने योजना रहेको ढुङगानाले जानकारी दिए।

आयोजना प्रमुख सम्झना क्षेत्रीले आयोजना निर्माणका लागि प्रारम्भिक कार्य सम्पन्न हुने क्रममा रहेको बताइन्। उनका अनुसार आयोजना निर्माणस्थल सम्मका लागि सडकहरु बन्न थालेका छन्।

आयोजनाका लागि जग्गा खरिदको अधिकाँस कार्य पूरा भएको उनले जानकारी दिइन्। २०८५ साल जेठ महिना सम्ममा पूरा गर्नेगरी हुन लागेको आयोजनाको विद्युत गृह (पावर हाउस) भूमिगत हुनेछ।

८ हजार ३ सय ७० मिटर लामो सुरुङ मार्ग बनाइने भएको छ। आयोजनाले वातावरणमैत्री हुनेगरी सुरुङ निर्माणका लागि टडिएम मेसिन प्रयोग गर्ने घोषणा समेत गरेको छ।

अध्यक्ष ढुङ्गानाका अनुसार उत्पादित बिद्युत १५ किलोमिटर टाढा रहेको मैवाखोलास्थित ढुङ्गेसाँघुमा रहेको विद्युत सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ। ढुङगानाका अनुसार विद्युत उत्पादन पछि बार्षिक ९ अर्ब २७ करोड आम्दानी हुने अनुमान रहेको जानकारी दिए। 

प्रतिवर्ष तीन प्रतिशतका दरले वृद्धि भई बार्षिक आम्दानी ११ अर्ब ५० करोडसम्म पुग्न सक्ने समेत उनले बताए।

आयोजनाले सीप अनुसार रोजगारीका लागि स्थानीयलाई अधिकतम् प्राथमिकता दिने समेत ढुङगानाले बताए। यसैबीच सरोकारवालाहरुले जलविद्युत क्षेत्रमा एक नयाँ आयाम आउन लागेको भन्दै तत्काल निर्माण प्रक्रिया सुरु गर्न तमोर इनर्जी प्रालिलाई सुझाव दिएका छन्। 

प्रकाशित: ८ कार्तिक २०८१ १३:३३ बिहीबार

#upper tamor hydropower