अर्थ

उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै

अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले गठन गरेकोउच्चस्तरीय सुझाव आयोगको पहिलो बैठक बुधबार बस्दैछ।सरकारले गत असोज २१ गते पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा आयोग गठन गरेको थियो।

गठन भएको १५ दिनपछि आज बैठक बस्न लागेको हो।बैठक बिहान ११ बजे सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवन ललितपुरमा बस्ने खनालले बताए। बैठकले आयोगको कार्यनीति बनाउने र सरकारलाई बुझाउने प्रतिवेदनको ढाँचा तयार पार्ने बताइएको छ।

त्यस्तै आजको बैठकले आयोगको प्रवक्ता तोक्ने छ।पाँच सदस्यीय आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, अर्थविद् डा विश्वास गौचन त्यस्तै नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा रामप्रसाद ज्ञवाली सदस्य छन्।

आयोगले प्रतिवेदन बुझाउन ६ महिनाको समय पाएको छ। आयोगले आर्थिक सुधारका क्षेत्र पहिचान गर्ने र अर्थतन्त्र सुधारमा नीतिगत र कानुनी मार्ग पहिचान गर्ने अर्थमन्त्रालयको अपेक्षा छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०८:३७ बुधबार

#ramesworkhanal #aayog