अर्थ

खाडीको सुन लहानमा किनबेच

लहान –लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

करिब साढे चार तोला (५० ग्राम) सुनको बाला खरिद गर्ने स्थानीय सुनचाँदी व्यवसायी सन्दीप सोनी केहीबेर प्रहरी नियन्त्रणमा रहे । सुन बिक्री गर्न आएका कल्याणपुर नगरपालिका–१ का मोहम्मद सजाबुल शेखको शरीर जाँच गर्दा लागूऔषध र गोलीसमेत बरामद भएपछि उनलाई प्रहरीले हिरासतमा राख्यो । यो घटना बुधबारको हो ।

शेख सुन बिक्रीका लागि लहान आएका थिए । उनी पहिला सोनीको लहान ७ स्थित माँ दुर्गा ज्वेलर्समा पुगे । बुधबारका दिन लहानमा सुनचाँदी पसल बन्द रहन्छन् । मोटरसाइकलमा आएका शेख लहानको मुख्यचोकमा रहेको एउटा चिया पसलमा सोनीलाई पर्खेर बसे । केहीबेरमा त्यहाँ आइपुगेका सोनीलाई सुन दिएलगत्तै प्रहरी टोलीले सुनसहित शेख र सोनीलाई नियन्त्रणमा लिएको थियो ।

बरामद भएको सुन गल्फ ज्वेलरी दोहा कतारबाट खरिद गरिएको बिलमा उल्लेख छ । तर, बिलमा उक्त परिमाणको सुन खरिदकर्तामा रामगोपाल मण्डलको नाम छ भने बिक्री गर्न आउने मोहम्मद शेख छ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बिलका आधारमा दोषी नदेखिएकाले सोनीलाई लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साहको रोहबरमा छाडिएको बताए । स्थानीय बजारमा सुनको दैनिक मागअनुसारको आधिकारिक आपूर्ति आधा पनि छैन।

मूल्य जस्तोसुकै घटबढ हुँदा पनि बजारमा सुनको अभाव हुँदैन । सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुन्छ । राष्ट्रबैंकले १६ वाणिज्य बैंकमार्फत दैनिक १५ किलो सुन बजारमा पठाउँछ । यो तथ्यांकले दैनिक कम्तीमा २५ किलो सुन अभाव रहेको प्रस्टै देखाउँछ।

सिरहा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष भरत अग्रवालका अनुसार बैंकमार्फत सय जिल्लालाई महिनामा ६ किलो सुन आउँछ । जिल्ला सुनचाँदी व्यवसायी संघलाई ४ किलो र लहान नगर सुनचाँदी व्यवसायी संघले २ किलो सुन पाउँछ । जिल्लाभरि करिब डेढ सय सुनचाँदी पसल छन्।

लहान बजारमा खाडी मुलुकबाट भित्रिएको सुन छ्याप्छ्याप्ती पाइन्छ । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइन भएकाले खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ ।

लहान जिल्लाको प्रमुख सुनचाँदी बजार हो । यहाँ करिब ५० वटा सुनचाँदी पसल छन् । जिल्लामा हुने सुनको कुल खपतको पचास प्रतिशत लहानबाटै हुन्छ । लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साहका अनुसार बैंकमार्फत आउने २ किलो सुनले यहाँको बजारको माग पूर्ति गर्न सकिँदैन । ‘माग धान्न बाहिरको सुन नै सहारा हो,’ उनले भने ।

यहाँको बजारमा पछिल्लो समय खाडी मुलुकबाट भित्रिएको सुन छ्याप्छ्याप्ती पाइन्छ । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइने र रेकर्ड पनि नहुने भएकाले कर छल्न सजिलो हुने हुँदा खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ । वैध बाटो (बैंक) बाट  आउने सुनको तुलनामा खाडीबाट आउने सुन सस्तो हुने भएकाले केही व्यवसायी यसको खरिदबिक्रीमा बढी नै संलग्न छन्।

खाडीको सुनले आधिकारिक रूपमा बजारमा भित्रिने सुनको मूल्य बिगारेको एक व्यवसायीले बताए । उनले नागरिकसँग भने, ‘यी दुईबीच तोलामै करिब १० हजार रुपैयाँको अन्तर हँुदा केही व्यवसायी त्यसकै व्यापारमा आकर्षित भएका छन् ।’ खाडीमा काम गएका मानिसमार्फत त्यहाँको सुन यहाँ आउने गरेको छ ।
भारतीय बजार प्रमुख

खाडी मुलुकबाट यहाँ भित्रिएको सुनको ठूलो परिमाण भरियामार्फत भारतीय बजारमा पुग्ने गरेको छ । स्थानीय बजारको तुलनामा भारतीय बजार पुर्‍याउँदा बढी फाइदा हुने भएकाले केही व्यवसायी यही धन्दामा लागेको स्रोतले बतायो।

भारतीय बजारमा सुन लैजान सेटिङ नमिल्दा मात्रै खाडीको सुनका लागि स्थानीय बजार खोजिन्छ । यहाँबाट भरियामार्फत सीधै सीमापार गराउने गरेको प्रहरी स्रोतको दाबी छ । वैदेशिक रोजगारका लागि गएका यस क्षेत्रका युवामार्फत यहाँका केही व्यपारीले सुन मगाउने र भारतीय बजारमा पु¥याउने काम गर्दै आएका छन्।

लहानमा हुन्डीको धन्दा गर्ने व्यवस्थित गिरोह नै छ । सुनको तस्करी फस्टाउनुमा भारतीय मुद्रा प्रमुख आकर्षण रहेको एक सुनचाँदी व्यवसायीले बताए । भारतीय सहरमा सुन बिक्री गर्दा भारतीय रुपैयाँ  प्राप्त हुन्छ ।

भारतीय रुपैयाँ सटही गर्दा सयकडा तीनदेखि ६ रुपैयाँ कमिसन आउँछ । सुन बिक्री गरेर दाम कमाउनुभन्दा पनि भारुबाट पाइने कमिसनका कारण व्यपारीहरू भारतीय सहरमा सुन बिक्री गर्न रुचाउँछन् । ‘लहानमा सुन र हुन्डीको गैरकानुनी धन्दा ओपन सेक्रेट हो,’ एक व्यपारीले भने, ‘भारतीय सीमानजिकको यो सहर सुन तस्करी र हुन्डी कारोबारीका लागि स्वर्ग हो ।’    
    
    

प्रकाशित: २४ चैत्र २०७४ ००:२१ शनिबार

खाडीको सुन लहानमा किनबेच