अर्थ

विश्व लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन्।

इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुँदै उनले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्ने बताए।

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी भएका थिए। रासस

प्रकाशित: २ कार्तिक २०८१ ०६:४७ शुक्रबार

#ramnath adhikari