अर्थ

पोखराः आएनन् आन्तरिक पाहुना पनि

राजमार्गको सकसपूर्ण यात्राले आन्तरिक पाहुना पनि आएनन्ः व्यावसायी

पोखराको फेवाताल। यो वर्ष आन्तरिक पाहुना कम आउँदा पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनेको छ। तस्बिरः सन्तोष/नागरिक

यो बेला विदेशी पर्यटकको नेपाल घुम्ने सिजन हो। सेप्टेम्बर–नोभेम्बर विदेशी पाहुनाको सिजन मानिन्छ। पदयात्राका लागि उपयुक्त समय भएकोले यो बेला विदेशीको आगमन बढ्ने गर्छ। त्यसबाहेक चाँडबाँडका कारण हुने लामो बिदाले गर्दा पर्याप्त आन्तरिक पाहुना पनि पोखरा घुम्न आउने गरेका थिए। तर, यो वर्ष भने विदेशी र आन्तरिक पाहुना नआउँदा पोखरा सुनसान छ।  

अघिल्ला वर्ष चाँडबाँडको बिदामा पोखरामा आउने आन्तरिक पाहुनाका कारण यहाँका पर्यटन व्यावसायीलाई ठूलो राहत मिल्ने गरेको थियो। तर, यो पटक आन्तरिक पाहुना समेत नआउँदा व्यावसाय ठप्प जस्तै बनेको व्यावसायीले बताएका छन्। अघिल्ला वर्ष यो सिजनमा भरिभराउ हुने पोखराका होटल अहिले रित्तै छन्। होटल मात्र नभई समग्र पर्यटन क्षेत्रको आम्दानी अहिले गुमेको व्यावसायीले बताएका छन्।  

‘यो पटक दसैंको लामो बिदामा आन्तरिक पाहुना पनि आएनन्। होटल रित्तै छ। अघिल्ला वर्ष यो बेला भीडभाड हुने गरेको थियो,’ होटल एशियाका संचालक धर्मराज पन्थी भन्छन, ‘विदेशी पाहुना त आएनन  नै, स्वदेशी पाहुना पनि नआएपछि पोखरा सुनसान बनेको छ।’ विदेशी पर्यटकको मुख्य सिजन र त्यसैमाथि चाँडबाँडका कारण आन्तरिक पाहुना थपिँदा पोखरामा अघिल्ला वर्ष यो सिजनमा होटलको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा हुने गरेको थियो। तर, अहिले आन्तरिक र विदेशी कुनैपनि पाहुना नआएको उनले बताए।  

‘दसैं अघिको बाढीपहिरोका कारण स्वदेशी र विदेशी सबै पाहुना आउन हच्किएका हुन। सडकमार्गको यात्रा असुरक्षित र झन्झटपूर्ण भएकोले आन्तरिक पाहुना पनि निस्कन सकेनन्,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष समेत रहेको पन्थीले भने, ‘यो पटक चाँडबाँडको मुखमा आइपरेको विपद्ले सबैतिर मार पारेको छ। पर्यटन क्षेत्र पनि जोगिन सकेको छैन।’ विपद्का कारण विदेशी पाहुना नेपाल आउन डराएको र आन्तरिक पाहुना पनि घुमफिरमा निस्कन नसकेको उनले बताए। 

 

उनका अनुसार यो बेला खासमा पदयात्रामा जाने उपयुक्त सिजन हो। पदयात्राकै लागि भनेर ठूलो संख्यामा विदेशी पाहुना पोखरा आउने गरेका थिए। तर, विपद्को त्रासका कारण विदेशी पर्यटकले नेपालको यात्रा त्यागेका छन भने आन्तरिक पाहुना पनि सकसपूर्ण र अनिश्चित यात्राका कारण घुमघाममा निस्कन सकेका छैनन्।

‘काठमाडौं–पोखराको यात्रा अति नै झन्झटपूर्ण छ। यात्रा समय अनिश्चित बनेको छ। यसले गर्दा पनि आन्तरिक पाहुना अघिल्ला वर्षको जस्तो ढुक्कले घुम्न आउन सकेनन,’ उनले भने। उनका अनुसार आन्तरिक पाहुना पनि आउन नसक्दा अहिले पोखराको होटलको अकुपेन्सी ५० प्रतिशत भन्दा तलै रहेको छ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष किशोर दाहाल पनि पोखरामा यो वर्ष आन्तरिक पाहुना पनि आउन नसकेको बताउँछन्। ‘सडकमार्गको यात्रा झन्झटपूर्ण छ। यात्रा समय पनि अनिश्चित बनेको छ। यसले गर्दा आन्तरिक पाहुना पनि अघिल्ला वर्षजस्तो आउन सकेनन,’ दाहालले भने, ‘काठमाडौं, चितवन, बुटवलदेखि पाहुना आउने गरेका थिए। तर, अहिले ती पाहुना आएनन्।’

विदेशी पाहुनाको सिजन भएपनि यो बेला आन्तरिक पाहुना थपिँदा पोखराको लेकसाइड यो बेला भीडभाड हुने गरेको थियो। तर, अहिले सुनसान झै बनेको उनले बताए। ‘पर्यटक बसमा हामीलाई यात्रु ओसार्न भ्याई न भ्याई हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन। दसैं मनाउन घर आएर राजधानी फर्किनेको बाहेक घुम्नकै लागि भनेर आउने पाहुना कम छन,’ दाहालले भने, ‘यो सबै स्थलमार्ग झन्झटपूर्ण र अनिश्चित यात्राले गर्दा हो।’

रेस्टुरेन्ट व्यावसायी समेत रहेका पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष गोपि भट्टराई पनि यो सिजनमा रेस्टुरेन्टको व्यावसायमा ४० प्रतिशत हाराहारीमा घटेको बताउँछन्। यो बेला लेकसाइडका सडकमा गुड्ने आन्तरिक पाहुना सवार निजी गाडी पनि नदेखिएको उनी बताउँछन्।

‘खाना खानकै लागि भनेर केही थकाली रेस्टुरेन्टमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो। लेकसाइडका भित्री गल्ली पोखराबाहिर बाट आएका सवारीको भीडले भरिएको हुन्थ्यो। तर, अहिले ती सबै सडक खालि छन,’ भट्टराईले भने, ‘पदयात्रामा आएका विदेशी पाहुना त केही छन। तर, लेकसाइडले राहत पाएको आन्तरिक पाहुना यो पटक पटक्कै आएनन।’

दसैंपछि पुर्णिमाको दिनसम्म पोखराको लेकसाइडमा देखिने चमक यो पटक हराएको उनले बताए। ‘यस्तै अवस्था रहिरहने हो भने पर्यटन क्षेत्र अझै धरासायी हुनेछ। राज्यले पर्यटन क्षेत्र बचाउने हो भने तत्काल केही कदम चाल्नै पर्छ, जसले पर्यटकको आउजाउमा सहजता होस्,’ उनले भने।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि विदेशी र स्वदेशी सबैखाले पाहुना यो पटक विपद्का कारण घुमघाममा आउन नसकेको बताउँछन्। ‘पर्यटकीय सिजन चलिरहेको बेला ठूलो आकारमा मानवीय क्षति हुनेगरि विपद् आइपर्यो, त्यसले गर्दा विदेशी पाहुना घुमघाममा निस्कन डराए। त्यसकै मारमा आन्तरिक पाहुना पनि परेका हुन। अहिले आन्तरिक पाहुना पनि अघिल्ला वर्षजस्तो आएनन,’ उनले भने, ‘होटलको कोठाको शुल्कमा ३० प्रतिशतसम्म छुट दिँदा पनि पाहुना आएका छैनन्।’

मौसमको अनिश्चितता, सडकको कठिन र अनिश्चित यात्राका कारण पाहुना आगमन कमजोर बनेको पराजुलीले बताए। ‘चाँडबाँडको मुखैमा राजमार्ग ध्वस्त हुनेगरि विपद् निम्तियो। राजमार्गको यात्रा अहिले निकै नै सकसपूर्ण बनेको छ। त्यसले गर्दा मान्छे घुम्नै निस्केनन्। सोधपुछ पनि उत्साहजनक छैन,’ पराजुलीले भने, ‘विदेशी पनि तर्सिएका हुन्। आन्तरिक पाहुना पनि हिडडुल गर्न डराएका कारण यो अवस्था आएको हो।’  

दसैंको लामो बिदामा अघिल्ला वर्ष पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत पुग्ने गरेको भएपनि योवर्ष त्यो आकारमा पाहुना आउन नआएको उनले बताए। पराजुलीले भने, ‘४० प्रतिशत हाराहारीमा अहिले होटलको अकुपेन्सी छ। यो आकारको अकुपेन्सीले त खर्च धान्न पनि सकिन्न।’ आन्तरिक पाहुना पनि नआउँदा व्यावसायमा मार परेको उनले बताए। ‘सबैभन्दा बढी मार यो पटक राजमार्गले पारेको हो। यात्रा अवधि बढी लाग्ने र झन्झटपूर्ण यात्राले गर्दा पर्यटकलाई घरबाट निस्कनै नपर्ने अवस्था ल्याईदियो,’ उनले भने।  

प्रकाशित: ३० आश्विन २०८१ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App