अर्थ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा प्रोडक्टको सुरुवात गरेको छ। कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत बैंकले किसान सरल कर्जा प्रोडक्टको सुरुवात गरेको हो। दश लाख रकमभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुने जनाएको छ।  

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ। आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने उल्लेख गर्दै बैंकले यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ। 

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने जानकारी दिँदै बैंकले आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सक्ने बताएको छ।कर्जाको बीमा गरिने बैंकको भनाइ छ। बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गर्ने जानकारी गराएको छ।

प्रकाशित: ३० आश्विन २०८१ १३:४१ बुधबार

#rastriya banizya Bank #Kisan Simple Loan