अर्थ

निमा रिञ्जी र दावा याङ्जुमले राखे नयाँ विश्व कीर्तिमान

निमा रिञ्जी र दावा याङ्जुम

हिमाल आरोहणका क्रममा दुई नेपाली नागरिकले नयाँ विश्व कीर्तिमान राखेका छन्। आरोही निमा रिञ्जी शेर्पा र दावा याङ्जुम शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान राखेका हुन्।

निमा रिञ्जी शेर्पाले ८ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका छन्। १८ वर्षीय निमा रिन्जी शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका हुन्।

उनले बुधबार बिहान ६ः५ मिनेटमा चाइनाको सिसापाङ्मा हिमालको सफल आरोहण गरेका हुन्। शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेका थिए। उनले सिसापाङ्मा हिमालको चुचुरोमा पाइला टेक्दै यस सफलता आफ्नो परियोजना ‘ह्यासट्याग शेर्पा पावर’ मा समर्पित गरेको आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन्।

यसै क्रममा उनले आफ्नो हिमाल व्यक्तिगत आरोहण मात्र नभई सम्पूर्ण शेर्पाहरूका लागि तोकिएको परम्परागत सीमाभन्दा बाहिर सपना देख्न हिम्मत गर्ने हरेक शेर्पाप्रति समर्पित भएको बताएका छन्। उनी भन्छन्, ‘पर्वतारोहण श्रमभन्दा बढी हो। यो हाम्रो बल, लचिलोपन र जोसको प्रमाण हो।’

यस्तै उनले शेर्पा पावरमार्फत शेर्पा युवा पुस्तालाई केवल आरोहीका सहयोगीहरू मात्र हुने नभई उत्कृष्ट एथलिट, साहसी र सिर्जनाकर्ताका रूपमा आफ्नो क्षमता अँगाल्न आह्वान गरेका छन्।

उनी भन्छन्, ‘ हामी गाइड मात्र होइनौं, हामी ट्रेलब्लाजर हौं। हाम्रो काममा गरिमा, हाम्रो सम्पदामा रहेको शक्ति र हाम्रो भविष्यमा असीम सम्भावना हेर्न प्रत्येक शेर्पालाई यो महसुस होस्।’

उनले हिमालले हामीलाई परिभाषित गर्नेभन्दा पनि हामीले पहाडलाई परिभाषित गर्ने उल्लेख गर्दै यसको संरक्षक हामी आफैं भएको बताएका छन्। साथै दिगो र साहसिक जीवन बाँच्नका लागि हाम्रा प्राकृतिक स्रोतहरूको संरक्षण गर्न सबै एकजुट हुनसमेत आग्रह गरेका छन्।

यस्तै कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले पनि नयाँ विश्व कीर्तिमान राखेकी छन्। उनले पनि बुधबार बिहान सिसपाङ्मा हिमालको सफलतापूर्वक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान राखेकी हुन्। यससँगै उनी विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखर चुम्ने पहिलो नेपाली महिला बन्न‌ सफल भएकी छन्। शेर्पाले बुधबार बिहान ५ बजे सिसपाङ्मा हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन्।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन्। हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन संघले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ।

पेसेबर गाइडका रूपमा दावा याङ्जुमले सगरमाथा २०१९, २०२२ र २०२३ मा नेसनल जियोग्राफिक वैज्ञानिक अनुसन्धान टोलीको नेतृत्व गरेकी छन् भने उनले मकालुमा २० घन्टामा स्पिड क्लाइम्बिङ (महिला) को कीर्तिमान पनि राखेकी छन्।

यस्तै उनीबिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने पहिलो नेपाली महिला हुन्। यस्तै पाकिस्तानको केटु हिमाल र ब्रोडा पिक हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन्। ‘वुमन फर चेन्ज एक्सपेडिसनअन्तर्गत २०१४ मा पहिलोपटक माउन्ट केटु हिमाल आरोहण गर्ने तीन नेपाली महिलामध्ये शेर्पा एक हुन्। उनी मकालु र मनास्लु हिमाल चढ्ने पहिलो नेपाली महिलासमेत हुन्। यसका साथै उनले अमेरिका, युरोप तथा उत्तर अमेरिकालगायतका विभिन्न हिमालको सफल आरोहण गरिसकेकी छन्। भने दावा रोलेक्स घडीको सबैभन्दा कान्छी ब्रान्ड एम्बेसडर र ‘द नर्थ फेस’ को ‘एथलिट’ले पनि हुन्।

दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा जन्मिएका दावा याङ्जुम १४ वटा चुचुरो पार गर्ने अभियानमा थिए। शरद ऋतुमा मनास्लु शिखरमा पुग्ने पहिलो महिला बनेकी दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन्।

नेपाल पर्वतारोहण संघको दोस्रो उपाध्यक्षसमेत रहेकी दावा याङ्जुमले सन् २०१२ मा आफ्नो पहिलो हिमाल यात्रा थालेकी हुन्। पहिलोपटकमै सहयोगी गाइड भएर सगरमाथा पुगेकी उनको हिमाल आरोहण यात्रा कीर्तिमानमय छ।

प्रकाशित: २४ आश्विन २०८१ ११:४३ बिहीबार

# Himal Aarohan # Naya Kritiman