अर्थ

बजारमा उपभोक्ता सचेतना आवश्यक

दसैंको आगमनसँगै कारबाही र जरिवानाका समाचार सुनिँदै आएका छन्। खाद्य वस्तुको गुणस्तरको बहानामा होस् वा सवारी नियम उलंघनको। अघिपछि सक्रिय नहुनेहरू पनि कारबाही गर्न हतारिने गरेको भेटिन्छ।

शुक्रबार काठमाडौं महानगरपालिकाले मिठाई व्यवसायीका लागि खाद्य स्वच्छता सम्बन्धी तालिम आयोजना गरेको थियो। तालिममा पर्व विशेषका खानेकुराको स्वच्छताबारे व्यवसायीलाई प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनुपर्ने अवस्थाका सम्बन्धी जानकारी दिइएको थियो। त्यसक्रममा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको स्वच्छता सुनिश्चित गर्न महानगरले व्यवसायीसँग आग्रह ग¥यो।

‘हामीलाई के गर्नुहुन्छ, के हुँदैन भन्नेसम्म थाहा थिएन,’ तालिममा सहभागी मिठाई पसले मनोहर गुप्ताले भने, ‘तालिमबाट हामीले धेरै कुरा सिकेका छौं।’ राम्रो देखाउने होडमा हामीले मिठाईमा मिसाइएको रङ कति हानिकार हुँदो रहेछ भन्ने थाहा पाएका छौं।’

त्यस्तै अन्य व्यवसायीले पनि तालिमको प्रशंसा गरे। महानगरले कारबाही गर्नुको साटो सचेतना कक्षा राखेकोमा उनीहरूले खुसी व्यक्त गरे। ‘विगतका वर्षहरूमा महानगरले अनुगमन गर्ने र कारबाही मात्र गर्ने गरेको पाएका थियौं,’ अर्का एक मिठाई व्यवसायीले भनिन्, ‘यस पटक हामीलाई ज्ञान दिएर गुन लगाएको छ। यसले हामीलाई खुसी बनाएको छ।’

महानगरले तालिमका लागि दुई सय ११ व्यवसायीलाई बोलाइएकोमा एक सय ६२ जना सहभागी भएका थिए। उनीहरूको उत्साहजनक सहभागिताले कम्तीमा पनि सहरको मिठाई केही भए पनि गुणस्तर हुने महानगरको बुझाइ छ।

‘कारबाही गर्नुभन्दा पहिला उसले के गल्ती गरेको छ भन्ने जानकारी दिनु जरुरी हुन्छ,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘त्यसैले हामीले कसरी शुद्धतामा ध्यान दिन सकिन्छ, नदिए केके कारबाही हुन्छ भन्ने जानकारी दिएका हौं।’

यसरी जानकारी दिँदा इमानदार व्यवसायी र नगरवासी दुवैलाई फाइदा हुने उनको बुझाइ छ।

‘कतिपयले सामान्य जानकारी नहुँदा पनि धेरै हानिकारक चिज खाने कुरामा प्रयोग गरेको देखियो,’ उनले भने, ‘उहाँहरूलाई जानकारी दिँदा अबदेखि त्यस्तो नगर्ने बताएका छन्।’

व्यवसायी पनि अपराधी होइनन् भन्ने बुझाइ रहेको भन्दै उनले सबैले मिलेर नगरवासीको स्वास्थ्यमा ध्यान दिनुपर्ने सुनाए। ‘हामीले कारबाहीलाई भन्दा सुधारका कामलाई महत्त्व दिएका छौं,’ मानन्धरले भने, ‘यसमा व्यवसायी पनि सकारात्मक देखिएका छन्।’

महानगरको यो तालिम ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रम अन्तर्गतको हो। स्वच्छ खाना, उत्कृष्ट व्यापार भन्ने सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको महानगरले जनाएको छ।

यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका तीन सय जना सञ्चालकलाई तालिम दिइएको महानगरले जनायो। त्यस्तै दोस्रो संस्करणमा दसैं लक्षित खाने कुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता (तीन सय २१ जनालाई तालिम दिइएको थियो।

दसैं लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि यो तेस्रो संस्करणमा तालिम दिइएको महानगरले जनाएको छ। दरबार हाइस्कुलमा सम्पन्न तालिममा मिठाई व्यवसायमा योगशील, यसको सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानीको बारेमा विज्ञले व्यवसायीलाई तालिम दिएका थिए।

त्यस्तै मिठाई स्वच्छताका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ, लेबलिङ, भण्डारण, नियमन, उत्पादन गर्ने तथा बिक्री गर्ने स्थान, संरचना, सुविधा, भण्डारण अभ्यास, स्वच्छता मूल्यांकन योजनालगायतका विषयमा कक्षा सञ्चालन गरिएको थियो।

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्यूनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा मिठाईबाट उत्पन्न हुन सक्ने जोखिमबारे जानकारी दिइएको थियो।

छलफलमा कच्चा पदार्थको उपलब्धता, तत्काल बिग्रिने र केही दिन राखेर प्रयोग गर्न सकिने खाद्यवस्तु, व्यवसाय सञ्चालन भएको ठाउँको स्वच्छता, सफाइ, भण्डारण, ढुवानी, बिक्री व्यवस्था, तेलजस्ता पुनः प्रयोग गर्न नसकिने वस्तुको व्यवस्थापनमा छलफल भएको महानगरले जनाएको छ।

त्यस्तै हाइजिन रेटिङ र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने कक्षा सञ्चालन गरिएको थियो।

सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट मिठाई, मिठाई बनाउने कच्चा पदार्थ तथा मिठाई बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुति गरिएको थियो।  

प्रकाशित: २२ आश्विन २०८१ ०९:३६ मंगलबार