अर्थ

चितवनका स्थानीय तहको आम्दानी घट्दै, आन्तरिक बजेट साढे दुई अर्ब मात्र

चितवनका स्थानीय तहको आन्तरिक आम्दानी घट्दै गएको छ। यहाँका सात वटा तहले पछिल्लो तीन वर्ष आन्तरिक आम्दानी निरन्तर घट्दै गएको बताएका छन्।

जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको स्थानीय तह र सरकारी कार्यालयहरूको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनीहरुले कोरोनापछिको आर्थिक मन्दिका कारण स्थानीय तहको आम्दानी पनि घट्दै गएको बताएका हुन्।

यहाँका सात स्थानीय तहको कुल बजेटको आन्तरिक आम्दानी २९ प्रतिशत मात्र रहेको छ । ८ अर्ब ७४ करोड ९२ लाख ४८ हजार कुल बजेट मध्ये २ अर्ब ५५ करोड २१ लाख रुपैयाँ मात्र आन्तरिक आम्दानी भएको उनीहरुले बताएका छन्। तर, यहाँका पालिकाको वित्तीय प्रगति औषतमा ७० प्रतिशत  भएको देखिन्छ।

चितवन जिल्लामा पाँच वटा नगरपालिका र एक÷एक वटा महानगरपालिका र गाउँपालिका रहेका छन्। त्यसमध्ये भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी सबैभन्दा बढी १ अर्ब ३६ करोड ९१ लाख ४८ हजार २९३ रुपैयाँ रहेको छ। भरतपुरको कुल बजेट ३ अर्ब ७९ करोड ९३ लाख ६६ हजार रुपैयाँ रहेको थियो। त्यसमध्ये ५० प्रतिशत मात्र वित्तीय प्रगति भएको महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तथा उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए। अन्य पालिकाको आन्तरिक आम्दानी भने न्यून देखिन्छ।

भरतपुरपछि सबैभन्दा धेरै खैरहनी नगरपालिकाको आन्तरिक आम्दानी १६ करोड १ लाख रुपैयाँ रहेको छ। यस नगरपालिकाको कुल बजेट १ अर्ब १५ करोड ९१ रुपैयाँ रहेको छ। बजेटमध्ये वित्तीय प्रगति ८५ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०मा १७ करोड ३१ लाख र त्योभन्दा अघिल्लो वर्ष २० करोड ७९ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो।

माडी नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड ५९ लाख ३८ हजार रुपैयाँ रहेको छ। यसको कुल बजेट ५९ करोड ५ लाख १२ हजार रुपैयाँ थियो। वित्तीय प्रगति भने ७७ दशमलव ७ प्रतिशत देखिन्छ। कालिका नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड १६ लाख ८२ हजार रुपैयाँ रहेका छ। संघ, प्रदेशको सर्सत र समानिकरण सहित ८६ करोड ३६ लाख २० हजार रुपैयाँ बजेट रहेको कालिकाको वित्तीय प्रगति ७७ प्रतिशत रहेको छ।

भरतपुर महानगरपालिका पछि जनसंख्या सहरीकरण बढी रहेको रत्नगर नगरपालिकाको आन्तरिक आम्दानी भने न्यून छ। उसको खैरहनी, कालिका र माडि नगरपालिकाभन्दा पनि कम आम्दानी देखिन्छ। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार रत्ननगरको आन्तरिक आम्दानी १२ करोड ३६ लाखमा सीमित छ । यस कार्यालयले एकीकृत सम्पत्ति कर, भूमि कर, घरबहाल, व्यवसाय जडीबुटी, सवारी साधन, विज्ञापन र मनोरञ्जन क्षेत्रबाट कर संकलन गर्दै आएको छ। रत्ननगरको कुल बजेट १ अर्ब २२ करोड ४० लाख २८ हजार मध्ये ७६ प्रतिशत वित्तीय प्रगति भएको छ।

१ अर्ब ४ करोड ७२ लाख ३० हजार रुपैयाँ कुल बजेट रहेको राप्ती नगरपालिकाको आन्तरिक आम्दानी ३ करोड ३२ लाख ५६ हजार रुपैयाँ छ। त्यस्तै चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको आन्तरिक आम्दानी २ करोड ९३ लाख ८८ हजार ६८८ हजार रुपैयाँ रहेको छ। यस गाउँपालिकाको कुल बजेट ६७ करोड ४ लाख १९ हजार रहेको प्रस्तुत गरिएको थियो।

आइतबार भरतपुरमा भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका सात स्थानीय तह र १० वटा कार्यालयको वार्षिक समीक्षा गरिएको हो । वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले स्थानीय तह तथा सरकारी कार्यालयले जनभावना अनुसार काम गर्नुपर्ने बताएका छन्। उनले सुशासन कायम राख्ने काममा कर्मचारी र जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह समेत गरे।

‘हामी भष्ट्रचारी होइनौँ, हुन पनि दिँदैनौँ’,उनले भने ‘राजनीतिक कर्मीलाई एक सेकेण्ड पनि छुट पाउनु हुँदैन।’ चितवन क्षेत्र नम्बर दुई (ख) का सांसद समेत रहेका सिलवालले समृद्ध चितवन बनाउन जरुरी रहेको बताए।

कार्यक्रममा जिल्लाका राजनीतिक दलहरूले कर्मचारीहरूले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका छन्। उनीहरुले सरकारी काममा जनताले धेरै दुःख पाउने भएकाले सहजरुपमा सेवाग्राहीका काम गर्नुपर्ने धारणा राखेका थिए। यस्तै जिल्लाका प्रमुख तथा उपप्रमुखहरूले तीन तहका सरकार बिच अन्तरसम्बन्ध हुन नसक्दा योजनाहरू दोहोरो भएको बताएका छन्।

कार्यक्रममा सात स्थानीयता तह सहित कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, डिभिजन वन कार्यालय भरतपुर, पूर्वाधार विकास कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन इकाई चितवन, मत्स्य विकास कार्यालय भण्डारा, पशु विकास कार्यालय भरतपुर लगायतका कार्यालयको वार्षिक समीक्षा गरिएको थियो। 

प्रकाशित: २१ आश्विन २०८१ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App