अर्थ

नेप्सेमा हरियाली जारी, कारोबार पनि बढ्दै

साताको दोस्रो कारोबार सोमबार पनि नेप्से परिसूचकमा हरियाली जारी छ। सोमबार नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा कायम भएको हो।

आइतबार पहिलो कारोबार दिन पनि नेप्से ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा कायम थियो। नेप्से बढेसँगै सोमबार कारोबार रकम पनि बढेको छ।

आइतबार ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३०५ स्टकको ७३ हजार ११९ पटकको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ७.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ।

सोमबार थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ। यसै गरी दोल्ती पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य करिब ९ प्रतिशत बढेको छ।

सोमबार इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयरमूल्य  ९९ रुपैयाँ ७० पैसा घटेर ८९७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी  कुमारी सबल योजनाको इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये सोमबार  ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।  

प्रकाशित: २१ आश्विन २०८१ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App