अर्थ

दसैँमा सुनासान मधेसका सुनचाँदी बजार

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएपछि दसैँमा मधेशको सुनचनाँदी बजार सुनसान बनेको छ। सरकारले बजेटमार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ। जसको प्रत्यक्ष प्रभाव बजार व्यापारमा परेको छ।

आइतवार लहानमा सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ५ रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँ थियो। सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाडेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य विकाश सारदाले बताए।

तीजमा पनि अत्यावश्यक गरगहना बाहेकका कुनै पनि गरगहना बिक्री नभएको उनले बताए। सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्नेभन्दा बिक्री गर्न आउने बढेको एक व्यवसायीले बताए।

नेपालीहरूको मुख्य चाड दसैँतिहारको समयमा पनि सुनको कारोबार निराशाजनक नै देखिएको छ।

सुनचाँदीको व्यवसायका लागि चाडबाड महत्त्वपूर्ण सिजन हो। अरू बेलाभन्दा यस समयमा सुनको कारोबार उच्च मात्रामा हुने गर्छ। तर, अहिले मूल्य बढेकोले सुनको व्यवसाय निराशाजनक रहेको व्यवसायीहरू बताउँछन्।

सुनचाँदीबजारमा ‘तीजको व्यापारले दसैँको व्यापार इंगित गर्छ’ भन्ने भनाइ छ। ग्त तीजमा नै सुनको कारोबार घटेको हुनाले दसैँमा राम्रो व्यापार नहुने शंका भने व्यवसायीहरूले गरेका थिए। तीजको समयमा सुनको मूल्य चर्को तरिकाले बढेपछि अधिकांश पसलहरू सुनसान जस्तै भएका थिए।

दसैँमा ग्राहकको घुइँचो हुने सुनचाँदी पसलमा अहिले सीमित ग्राहक मात्र आउने गरेका छन्। पसलमा आउने ग्राहकमध्ये अधिकांश आफ्नै सुन लिएर गहना बनाउन आउने गरेका व्यवसायीहरू बताउँछन्।

दसैँ सुरु भएदेखि दिनमा आधा तोला सुन बिक्री हुन पनि मुस्किल रहेको लहानका सुनचाँदी व्यवसायी मनिष सारदाको भनाइ छ। उनी भन्छन्, ‘अहिलेको जस्तो बजारको अवस्था पहिला कहिल्यै थिएन्। यही अवस्था रहीरहे यो व्यवसाय नै धारासायी बन्न सक्ग्छ।’

उनकाअनुसार दसैँमा पहिले एउटै व्यक्तिले ४/५ तोला सुनको गरगहना बनाउनु सामान्य थियो, तर अहिले त्यस्ता ग्राहक पसलसम्म आएका छैनन्।

मुलुकभर २२ हजारभन्दाबढी सुनचाँदीपसल छन्। सामान्य अवस्थामा दसैँको समयमा ती पसलबाट दैनिक ५० केजीभन्दा बढी सुनको खपत हुन्थ्यो। तर, अहिले मुस्किलले दैनिक १५ केजी सुनको मात्र कारोबार हुने गरेको छ। मूल्य बढेपछि सुनको कारोबार ओरालो लाग्न थालेको छ।

दसैँतिहार सुनचाँदी व्यवसायीका लागि राम्रो व्यापार हुने सिजन मानिन्छ। यो समयमा धेरै मानिस सुनको नयाँ गरगहना बनाउने गर्छन्। त्यसैले यो समय सुनचाँदी व्यवसायीका लागि महŒवपूर्ण रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य सारदाको भनाइ छ।

महँगी बढ्दा पनि सुनको कारोबारमा ह्रास आएको उनले बताए। उनले भने, ‘अहिले सरकारले सुनचाँदीको करमा व्यापक बढोत्तरी गरेकोले मूल्य बढ्न गएको हो। सीमापारि तोलामै करिब १५ हजार घटीमा सुन पाउँछ। कारण, भारतमा सुनमा कर ६ प्रतिशत मात्र रहेको सारदा बताउँछन्। नेपालमा भने २० प्रतिशत करले पनिमूल्यअकासिएको उनले बताए। जसको मारमाआम सर्वधारणहरू परेका छन्। अर्कोतर्फ आयात र बिक्री घट्दा सरकारलाई राजश्व र आमम्दानी दुबै घाटा भइरहेको उनले बताए।

उनले थपे, ‘नेपाली समाजमा यस्ता चाडपर्वमा नयाँ गरगहना लगाउने विषय एउटा संस्कृतिको रूपमा नै विकास भएको छ। त्यसैको प्रभावले यस समयमा ठूलो मात्रामा सुनका गरगहना बिक्री हुने गर्थे। तर, अहिले चाडपर्वको समयमापनि सुनका गरगहना किन्ने ग्राहकको संख्या नगन्य मात्रामा हुँदा व्यवसायीहरू मर्कामा परेका छन्।’

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पनि सुनको आयात घटेको देखाएको छ। नेपाल बैंकर्स संघका अनुसार सामान्य अवस्थामा व्यवसायीहरूले बैंकबाट मासिक ६ सय केजी सुन लिने गर्थे। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ।

नेपाल सरकारले सुनचाँदीमा निर्धारण गरेको २० प्रतिशत कर संशोधन गरी ८ प्रतिशत कायम गर्न नेपाल सुनचाँदी व्यवसायी महासंगले मागपत्र बुझाएको सारदाले बताए।

मागअनुसार करको दर कायम भए सुनचाँदीको मूल्य घट्ने र व्यपार चलायमान हुने उनको भनाइ छ। अहिले मधेसका अधिकांश उपभोक्ताको सुनचाँदी खरिद गर्ने गन्तव्य भारतीय सहर बन्न थालेको छ। यो सबै मूल्यको अन्तरले भएको हो। पहिला उत्ता(भारतीय सहर) का उपभोक्ता मधेसका सुनचाँदी पसल आउँथे अहिले यत्ताका उपभोक्ता पारि जान थालेका छन्।

पछिल्लो समय मधेसका सुनचाँदी पसल सुनसान र पारिका गुलजार बन्न थालेका छन्। यो व्यवपारीका लागि मात्र नभई राज्यका लागि पनि चुनौती रहेको सारदाको भनाइ छ।

प्रकाशित: २१ आश्विन २०८१ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App