अर्थ

मौरिसले चिनाएको अन्नपूर्णमा छोराले पदयात्रा गर्दै

अन्नपूर्ण घुम्दै मौरिस पुत्र माथिएस

पोखरामा रहेका माथिएस हर्जाेग। अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी कायम गरेका मौरिस हर्जाेगका छोरा माथिएस अहिले पोखरामा छन। उनी अन्नपूर्ण क्षेत्र घुम्न जाँदैनछन्। तस्बिर सौजन्यः ललित गुरुङ

फ्रान्सेली नागरिक मौरिस हर्जोगले ७४ वर्षअघि पहिलोपटक ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिए। सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको हर्जाेगले सफल आरोहण गरेका थिए। आठहजार मिटर उचाइभन्दा माथि मानव पाइला पुगेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुई लिचेनेल पनि साथमा थिए।

अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो। अन्नपूर्णमा मानव पाइला पुगेको त्यही दिनका सम्झनामा अहिलेपनि हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ। पर्यटन व्यावसायीले यो दिन विशेष कार्यक्रम गर्दै आएका छन। हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको मानिन्छ। उनै हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्नतर्राष्ट्रिय पर्वतीय पर्यटनमाझ झनै चर्चा पाएको थियो। त्यसकै कारण अहिले पनि हिमाल आरोहणमा विदेशी आरोहीको चाँसो बढ्ने गरेको छ।  

हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका उनै हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ। अन्नपूर्ण आधारशिविरबाट हरेक वर्ष सुरु हुने अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङका अनुसार हर्जाेगले अन्नपूर्ण फेरो सहित अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको पदयात्रा जाने योजना बनाएका छन्।

‘पिता मौरिसले अन्नपूर्णलाई विश्वभर चिनाए। त्यही पहिचानका कारण अहिले नेपालमा वर्षेनौ सयौं आरोही हिमाल आरोहण गर्न आईपुग्छन। पिताले अन्नपूर्ण प्रथम आरोहण गरेको ७५ औं वार्षिकोत्सवका अवसरमा गरिने विशेष कार्यक्रमको तयारीको लागि छोरा माथिएस नेपाल आएका हुन,’ गुरुङले भने, ‘बुबा पुगेको चुचुरोमा जान नसकेपछि फेँदीसम्म जाने उनको योजना छ। उनको यो भ्रमणले पर्यटन क्षेत्रमा थप बल पुग्नेछ। आगामि दिनमा अझ धेरै आरोहीलाई नेपाल आउन बल पुग्नेछ।’

बुबाले हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा नेपालमा हुने विशेष कार्यक्रमको तयारीका लागि अहिले आएका उनी झन्डै तीनमहिना नेपालमै रहने गुरुङले जानकारी दिए। ‘लम्जुङको बेशीसहरबाट सुरु गरेर मनाङ हुँदै मुस्ताङ ओर्लेर अन्नपूर्ण राउन्ड घुम्ने छोरा माथिएसको योजना छ। त्यसपछि उनी एबिसी क्षेत्रको पनि पदयात्रामा जानेछन। उनको योजना बुबाको ७५ वर्षको आरोहणको कार्यक्रमलाई भव्य बनाउने योजना हो,’ उनले भने, ‘एकसाता अघि मात्र नेपाल आएका हुन। यतिबेला पोखरामा आराम गरिरहेका उनलाई फ्रान्स सरकारले नै पठाएको हो।’ केहीदिन पोखरामा रहेर माथिएस अन्नपूर्ण राउन्डको पदयात्रामा जानेछन्।

आगामि अन्नपूर्ण डे का अवसरमा अयोजना हुने विशेष कार्यक्रमको तयारीका लागि आएका उनले पोखरामा सरोकारवालासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। ‘हामीले पनि हरेक अन्नपूर्ण प्रथम आरोहण पुरा भएको दिनको सम्झनामा एबिसीदेखि सुरु हुनेगरि म्याराथन प्रतियोगिता गरिरहेका छौ। आगामि दिनमा पनि ती कार्यक्रम अझै भव्य हुनेछन। त्यसैमाथि मौरिसले आरोहण गरेको ७५ वर्षको कार्यक्रम पनि हुँदैछ। आगामि जुन ३ मा हुने उक्त कार्यक्रम अझै भव्य बनाउने योजना हो,’ उनले भने, ‘अहिले घुमेर स्वदेश फर्किने माथिएस जुन ३ पारेर फेरि नेपाल आउनेछन।’ माथिएस यसअघि ३० वर्ष अघि नेपाल आएका थिए। नेपालमा यो उनको दोश्रो आगमन हो।  

‘माथिएसको आगमन पर्यटन क्षेत्रका लागि राम्रो हो। उनकै पिता मौरिस हर्जाेगले अन्नपूर्ण चिनाए। अन्नपूर्ण हिमाल मात्र नभई समग्र अन्नपूर्ण क्षेत्र चिनियो,’ उनले भने, ‘आठहजार मिटर अग्ला हिमाल आरोहण गर्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएकोले अरुका लागि बाटो खुलेको हो।’ मौरिसका छोरा माथिएसको नेपाल भ्रमणले अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो हुने उनले बताए।

बुबाले आरोहणमा प्रयोग गरेको केही सामाग्री फेरि नेपाल ल्याउने उनको चाहना समेत रहेको गुरुङले जानकारी दिए। काठमाडौमा नेपाल पर्वतारोहण संघले आयोजना गरेको स्वागत कार्यक्रममा पनि माथिएसले बुबाले आरोहणमा प्रयोग गरेका सामाग्री नेपाल ल्याएर प्रदर्शनीमा राख्ने बताएका थिए।  

माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले त्यस क्षेत्रको पहिचान थप फराकिलो हुने विश्वास रहेको पनि गुरुङले बताए। ‘अन्नपूर्ण क्षेत्रलाई विश्वमै परिचित मौरिस हर्जाेगको योगदानको सर्वत्र कदर भईरहेको छ। बुबाले बनाइदिएको त्यो पहिचानलाई छोराको भ्रमणले थप फराकिलो बनाउनेछ,’ उनले भने।

प्रकाशित: २० आश्विन २०८१ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App