अर्थ

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योग मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।

नेपाल रत्न तथा आभूषण संघको १९ औं वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सुनको कोटा बढाउन तयार रहेको बताएका हुन। अहिले नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा २० केजी पुराएको छ। वाणिज्य बैङ्कहरूले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन्। तर आवश्यकता परेको भए प्रतिदिन ४० केजीसम्म भए पनि सुनको कोटा बढाउन सकिने उद्योग मन्त्री भण्डारीले बताए।  

मन्त्रालय सुनको कोटा प्रणालीलाई संशोधन गरेर जान तयार रहेको बताए। मन्त्री भण्डारीले गरगहना क्षेत्रको रोजगारी र व्यवसाय जोगाउन सरकार प्रतिबद्ध रहेको धारणा राखे।

उनले कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई मात्रै आयात गर्न दिइएको र कच्चा पदार्थको रुपमा ल्याउँदा सरकारले प्रतिबन्ध लगाएको भन्दै यस बारेमा पनि छलफल गर्न सरकार तयार रहेको बताए।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्ने पक्षमा रहेको भन्दै निजी क्षेत्रलाई फरक आँखाबाट हेर्नुपर्ने स्थिति नरहेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य र सहयात्रा गर्न सरकारले चाहेको तर त्यसमा व्यावसायिक शुद्धता आवश्यक रहेको बताए।

मन्त्री भण्डारीले एकले अर्कोलाई दोषारोपण गरेर मुलुक बन्न नसक्ने बताए । कानुनका अभाव र जटिलतालाई समाधान गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताए। निजी क्षेत्रले चिन्ने र बुझ्ने गरी र लगानीकर्ताले अब नेपालमा लगानीको वातावरण नीतिगत रुपमा सुधार भएको महसुस गर्ने गरी सरकारले तयारी गरिरहेको बताए।

उनले आगामी संसद अधिवेशनमा धेरै भन्दा धेरै कानुनहरू पारित गर्ने गरी अघि बढ्ने बताए।अत्यावश्यक वस्तुहरूको सहज आपूर्तिलाई व्यवस्थित गर्ने काममा सरकार लागिरहेको मन्त्री भण्डारीले जानकारी दिए । 

प्रकाशित: २० आश्विन २०८१ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App