अर्थ

हट एअर बेलुन उडान सुचारु

मनसुन अवधिमा रोकिएको पोखराको हट एअर बेलुनको उडान यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हटएअर बेलुन पोखराको आकाशमा पर्यटक सयर गराउने साहसिक पर्यटकीय प्रडक्ट हो।  

बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले पर्यटकीय सिजन सुरु भएकोले उडान सुचारु भएको बताए। मनसुनका कारण उडान रोकिएकोमा अब पर्यटकीय सिजन सुरु भएकोले पनि उडान थालेको उनले बताए। हट एयर बेलुन साहसिक पर्यटकको रोजाइमा पर्छ।  

यो कम्पनीले करिब ९ हजार फिट हाराहारीमा पोखराको आकाशमा हटएअर बेलुनमा उडान गर्दै आएको छ। बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिम श्रृंखला, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट, मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको  सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ। पोखराको पामेबाट हटएयर बेलुन उडान हुने बाडेले जानकारी दिए। उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडान हुने गरेको छ। बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए। बेलुन नेपालले नै आगामी क्रिसमस र अंग्रेजी नयाँवर्ष सन् २०२५ लाई लक्षित गर्दै यही वर्षको डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ।

हटएअर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्छ। यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य मुलुकका पर्यटकलाई १५० अमेरिकी डलर शुल्क कायम छ। हट एयर बेलुन तातो हावाले भरिएको बेलुनमा बसेर हावामा मनोरम दृश्यावलोकन गरिने साहसिक प्रडक्ट हो। सूर्याेदय र सूर्यास्तको दृष्यावलोकनमा रमाउने पाहुनाले बेलुनको उडान रुचाउने गरेका छन। दिउँसोमा भने हावाको गति बढी हुने भएकाले उडान हुँदैन।

प्रकाशित: १८ आश्विन २०८१ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App