अर्थ

किसानले नै घटाए च्याङ्ग्राको मूल्य

दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।  ‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने, ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम हुन्छ।’ गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए।

छेवाङसहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर दुई सय ५०  च्याङ्ग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन्। मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङ्ग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन्।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन्। जडिवुडीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ।

दसँै तिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङ्ग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन्।

यस वर्ष दसैँका लागि मुस्ताङबाट दश हजार च्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।

तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन्।

उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउए। वि.सं. २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ। रासस

प्रकाशित: १७ आश्विन २०८१ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App