अर्थ

खाद्यवस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ। बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत रूपमै गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको भ्यान बजारमा पठाउन सुरु गरिएको छ।

बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठीक, बेठिक छुट्याउने प्रयोगशालासहितको भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबारबाट प्रयोगमा ल्याएको छ। घुम्ती ल्याबसहितको भ्यानको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शुभारम्भ गरे। ६ वर्षअघि नै भ्यान खरिदमा आएको भए पनि खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि रोकिएको थियो। अदाललते सम्बन्धित अधिकारीलाई सफाइ दिइसकेको छ।

प्रयोगशलासहितका घुम्ती भ्यान सञ्चालनमा आएपछि जनताले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ खानु पर्ने अवस्था आउन नदिन सहयोग पुग्ने मन्त्री अधिकारीले बताए। ‘स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमुना भ्यानको सहयोगमा परीक्षण हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त भ्यान सञ्चालनमा ल्याइएको हो।’

होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु र खाद्य वस्तुमा प्रयोग हुने रङको नमूना संकलन गरेर तत्कालै ल्याब परीक्षण गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। ‘प्रयोगशालासहितको भ्यान बजारमा पठाएर खाद्यवस्तुको अन द स्पट परीक्षण गर्छौं,’ कर्णले भने, ‘यसले खाद्य स्वच्छतामा टेवा पुग्छ।’

परीक्षण गरेपछि खाद्य वस्तु प्रयोग गर्न मिल्ने नमिल्ने ततकाल पत्ता लाग्छ। खाद्यवस्तु गुणस्तरीय (खानयोग्य) भए, नभएको तुरुन्त पत्ता लगाउन सक्ने उपकरणसहितका भ्यान प्रयोगमा ल्याएका छौं,’ कर्णले भने, ‘घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्छौं।’ अखाद्य वस्तु भए विभागका अधिकारीले तत्काल बिक्री वितरणमा रोक लगाउँछन्। अहिलेसम्म बजार अनुगमनमा गएर खाद्य वस्तुको नमुना संकलन गरेर ल्याई प्रयोगशालामा परीक्षण गर्दा धेरै समय लाग्यो। वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ। ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितका उपकरण जडित चार वटा भ्यान विभागसँग छन्। अहिले तत्कालका लागि दुई वटा भ्यान विभागले प्रयोगमा ल्याएको छ। खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए, नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो हुन्छ। विभागको टोलीले विभिन्न महानगरपालिका, नगरपालिका, गाउँपालिका, बजार र नाका एवम् क्षेत्रमा घुम्ती ल्याबमार्फत अनुगमन गर्छ।

भ्यानमा ४८ प्रकारका मेसिन र किट रहेको विभागले जनाएको छ। अहिले काठमाडौं उपत्यकाबाट सुरु गरिए पनि विभागले प्रमुख सहर विराटनगर, भैरहवा र धनगढी वा पोखरामा पनि सञ्चालन गर्ने जनाएको छ। बजार अनुगमनमा जाने विभागको टोलीले नमुना संकलन गरेर परीक्षणको लागि अफिस आउनुपर्ने बाध्यता अन्त्य हुने विभागले जनाएको छ। अहिले सञ्चालनमा ल्याएका वेल इक्विपमेन्ट ल्याबोरेटोरी मोबाइल भ्यानले बजारमा सचेतना जगाउन पनि सघाउ पुग्नेछ। भ्यानमा सुरक्षित खाना सम्बन्धी सन्देश पनि लेखिएको छ । यसबाट उपभोक्ता ठगिइरहेको बेला अनुगमन गरेर तत्काल कारबाही गर्न सहयोग पुग्नेछ। बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भएको गुनासो आइरहेको बेला प्रभावकारी तथा सघन अनुगमन गरी छिटो–छरितो नतिजा दिने विभागको तयारी छ। गुणस्तर मापदण्डका आधारमा हरेक खाद्य वस्तुको परीक्षण हुन्छ। यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुनेछ।

अनुगमनमा खाना पकाउने तेलसहित खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाइमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्री–वितरण गरेको भेटिने गरेको छ। होटल तथा रेस्टुरेन्टले अखाद्य खाना खुवाउँदा, झाडापखाला, गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखालासहित टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन्। विभागको अनुगमनमा चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी, ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट, पानीमा पिए बढी, दूधमा दिसामा हुने तŒव कोलिफर्म भेटिएको छ। तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दूषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दासमेत दायर गर्न थालेको छ।

प्रकाशित: १७ आश्विन २०८१ ०८:३२ बिहीबार

#Food taste #food #Department of Food Technology and Quality Control