अर्थ

निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।बुधवार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन।

उनले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरूप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताए। मन्त्री पौडेलले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको दाबी गरे। उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे ।

उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताए । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दसैँअघि नै दिने प्रयासमा भएको  बताए । उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए । उनले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको धारणा राखे । 

उनले वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरू जारी रहने बताए । उनले भुक्तानी गर्नुपर्ने दायित्व धेरै भए पनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको बताए।

मन्त्री पौडेलले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए । उनले जलवायु परिवर्तनको असर देखिएकाले वर्षाको कारण धेरै ठुलो क्षति भएको  बताए । उनले अब प्राकृतिक विपद्को पूर्वानुमान गरेर त्यसलाई सामना गर्न सक्ने संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए । 

प्रकाशित: १६ आश्विन २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App