अर्थ

विपद्बाट पूर्वाधार र कृषितर्फ करिब १७ अर्ब धनको क्षति

मुलुकमा पछिल्लोपटक बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएको छ। बाढीपहिरो र डुबानका कारण पूर्वाधार र कृषितर्फ करिब १७ अर्ब रुपैयाँबराबरको क्षति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बाढीले सबैभन्दा ठुलो क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा पुर्‍याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान बाली, अलैंची, उखु, फलफूल, तरकारी, माछा, पशुपन्छीलगायतमा करिब ६ अर्ब रुपैयाँको क्षति भएको छ। खानेपानीका संरचनातर्फ तीन अर्ब ५५ करोड, सडक संरचनातर्फ दुई अर्ब ५२ करोड, जलविद्युत् ऊर्जा पूर्वाधारतर्फ चार अर्ब, सिँचाइतर्फ एक अर्ब रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कृषिमा सबैभन्दा धेरै क्षति धानखेतीतर्फ भएको छ। करिब ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड रुपैयाँबराबरको क्षति भएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेलगायत जिल्लामा लगाइएको धानखेती नोक्सान भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।  एक हजार तीन सय हेक्टरमा लगाइएको अलैंची नष्ट हुँदा ७० करोड रुपैयाँबराबरको नोक्सान भएको छ। उखुबालीतर्फ ३४ करोड र माछाखेतीतर्फ एक अर्ब १३ करोड रुपैयाँबराबरको क्षति भएको छ। त्यस्तै २४ वटा पशुगोठमा क्षति पुगेको छ। पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा २६ हजार दुई सय पाँचवटा पशु मरेका छन्। कृषि तथा पशुपन्छी मन्त्रालय मातहतका निकायहरूको संरचना भत्किँदा करिब १६ करोड रुपैयाँबराबरको क्षति भएको छ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा नौवटा सञ्चालनमा आएका छन्। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीपहिरोबाट प्रभावित सबै राजमार्ग नियमित गर्न सम्पूर्ण शक्ति र संयन्त्र लगाएर काम भइरहेको बताए। विभिन्न राजमार्गका ६९ भन्दा बढी ठाउँमा सवारी आवागमन अवरुद्ध भएको थियो।

अविरल वर्षासँगैको बाढीपहिरो र डुबानबाट करिब एक हजार एक सय मेगावाट बिजुली प्रवाह अवरुद्ध भएको छ। विद्युत् प्रवाह अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ। जलविद्युत् र सिँचाइमा करिब पाँच अर्ब रूपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक विवरण आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

बाढीपहिरोले दुई दर्जन बढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ। त्यस्तै प्रसारण लाइनमा पनि असर पुगेको छ। विद्युत् आयोजनामा क्षति हुँदा ११ सय मेगावाट बिजुली प्रवाह अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘चार सय ५६ मेगावाटको अपर तामाकोसी आयोजना बन्द हुँदा लोड व्यवस्थापनमा कठिनाइ भएको छ’, घिसिङले भने। ६ सय २५ मेगावाट जडित विद्युत् क्षमताका सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। आपत्कालीन अवस्थामा अधिकांश विद्युत् गृहको उत्पादन बन्द रहेकाले करिब ११ सय मेगावाटबराबरको बिजुली प्रवाह अवरुद्ध भएको हो। त्यस्तै एक हजार १० मेगावाट जडित विद्युत् क्षमताका १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

प्रकाशित: १६ आश्विन २०८१ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App