अर्थ

हवाइ टिकट महँगियो, त्यही पनि पाइँदैन !

लगातार तीन दिन परेको पानीले गर्दा देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि हवाई टिकटको अभाव हुन थालेको छ। पहिरोको कारण उपत्यकाबाट बाहिरिने/भित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव भएको हो।

यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन सकिरहेका छैनन्। उपत्यकाबाट बाहिरिने/भित्रिने मुख्य राजमार्गहरूमा अवरोध आउँदा हवाई यात्राको लागि अत्यधिक टिकटको माग छ। हवाई टिकटको अत्यधिक माग भएको अवस्थामा गाडीको जस्तो जहाजको ‘ट्रिप’ थप्न नसकिने बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए। ‘यात्रु धेरै भए भनेर जहाज कम्पनीहरूले थप उडान गरिहाल्न पाउँदैनन्।’ उनले भने, ‘कम्पनीले उड्डयन प्राधिकरणबाट अनुमति लिएर सोही अनुरूप सबै प्रक्रिया पुर्‍याएर मात्र थप उडान गर्न पाउँछ।’

बाढीपहिरोको विपदले राजमार्ग बन्द भएको अवस्थामासमेत वायुसेवा कम्पनीहरूले टिकटको मूल्य अत्यधिक बढाएको भनेर विरोध भइरहेको छ। यसैक्रममा वायुसेवा सञ्चालक संघले यस विपदको घडीलाई विचार गर्दै असोज १४ देखि १६ गतेसम्म नेपाल सरकारले तोकेबमोजिम लिँदै आएको उच्चतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो। 

जहाजको ‘अकुपेन्सी’ अनुसार त्यसको ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने बताउँदै संघले १५ प्रतिशत ‘मिडल’ र त्यो पनि भरिएपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेको छ। अहिले विपत्को अवस्थालाई विचार गरी संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेकोमा राजमार्ग नबनिन्जेल टिकट मूल्य नबढाउने मन्त्रीको पहल यात्रुका लागि राम्रो भए पनि यसले कुनै सहजता र राहत नदिएको यात्रुको गुनासो छ। 

यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाइ टिकट सस्तोमा बेच्न पहल गरेका छन्। मन्त्री पाण्डेको विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका छन्।

मन्त्री पाण्डेकै निर्देशन अनुसार वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल नियमित नभएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्। यसअघि तीन दिनका लागि मात्र न्यूनतम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादर मै टिकट बिक्री गर्ने भएका हुन्। 

मन्त्रीले टिकटको मूल्य सस्तोमा बेच्ने पहल गर्दैगर्दा काठमाडौंबाट हुने उडानमा वायुसेवा कम्पनीले टिकटको मूल्य अरूबेलाको भन्दा दोब्बर लिइरहेका छन्। राजमार्ग बन्दा हुँदा हवाई टिकटको माग अत्यधिक भएका कारण टिकटको अभाव हुँदा उपत्यकाबाट बाहिरिने हवाई टिकटको मूल्य न्यूनतम भाडादरमा कम्पनीले नदिने यात्रुहरूको बुझाइ छ। 

प्रकाशित: १६ आश्विन २०८१ ०७:१८ बुधबार