अर्थ

रंगेली नगरपालिकाले घटायो कर

मोरङको रंगेली नगरपालिकाले वृद्धि गरेको करको दर घटाएको छ। मंगलबार सम्पन्न विशेष नगर सभाले नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने निर्णय गरेको हो।

विशेष साधारण सभाले गरेको निर्णयबारे जानकारी दिँदै रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडीयाले नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर साबिककै दर कायम गरेको जानकारी दिए।

बगडीयाले आफ्नो कार्यकाल भर नगरपालिकाले कर वृद्धिसमेत नगर्ने घोषणा गरे। वगडीयाले भने ‘नगरपालिकाको आम्दानीको स्रोत बढाउन कर वृद्धि गरिएको भएपनि विपक्षी राजनीतिक दलहरूको विरोध र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न करको दर घटाएर पुरानै दर कायम गर्ने निर्णय गरेका हौँ।’

प्रमुख वगडीयाले नगरपालिकाको आन्तरिक आम्दानी एकदमै थोरै रहेको र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदानहरूकै भरमा नगरपालिका सञ्चालन गरिरहन मुस्किल भएको बताए। वगडीयाले एकातर्फ आन्तरिक आम्दानी न्यून रहेको र अर्कोतर्फ प्रदेश र सङ्घबाट प्राप्त हुने अनुदान रकम पनि कटौती हुने गरेका कारण नगरपालिकाको विकास निर्माणका काममा समेत समस्या आउने देखिएको स्पष्ट पारे।

रंगेली नगरपालिले अस्वाभाविक कर वृद्धि गरेको आरोप लगाउँदै विपक्षी दल नेपाली कांग्रेसले नगरपालिकाको निर्णय विरुद्ध आन्दोलन नै गरेको थियो। तर, प्रमुख वगडीयाले नगरपालिकाले वृद्धि गरेको कर मोरङकै अन्य पालिकाको भन्दा न्यून रहेको दाबी गरे। उनले कर वृद्धिको बहाना बनाएर विपक्षी दलले अनावश्यक बखडा झिकेको आरोप लगाए। 

प्रकाशित: १५ आश्विन २०८१ १८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App