अर्थ

मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला

कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छन्। एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताइन्।

एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन्। उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिन्छिन्। नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन्।

उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छन्। श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राखिन्। महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उहाँले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

‘स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन’, नन्दकलाले भनिन्, ‘प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ।’ उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाइन्। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन्।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन्। जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ।

‘समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ’, नन्दकलाले भन्नुभयो, ‘नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ। जुन सामान्य किसानलाई सजिलो छैन।’ जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिइन्।

एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु छ सय, रु सात सय र रु आठ सयपर्ने जानकारी दिइन्। मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ।

सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन  व्यवसायलाई सुरु गर्नुभएकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताइन्। सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उनले जानकारी दिइन्।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन्। ‘काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ। हालसम्म कोहलपुर र नेपालगञ्जको माग पु¥याउन नै सकिएको छैन’, उनले भनिन्।

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताइन्। स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन्। रासस

प्रकाशित: १५ आश्विन २०८१ १०:०९ मंगलबार

#honey #Honey_Bee