अर्थ

चाडपर्वमा सघन बजार अनुगमन

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले केही दिनअघि आफैं जिम्बु थकाली रेष्टुरेन्ट पुगेर अनुगमन गरे। एमाआरपी मूल्य ३५ रूपैयाँ रहेको मिनिरल वाटरलाई एक सय रूपैयाँमा बिक्री गरेको भेटिएपछि विभागले जिम्बु थकालीलाई तीन लाख रूपैयाँ जरिवाना गर्‍यो। अतिआवश्यक दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य लिएको पाइए कारबाही गर्ने पौडेलले सन्देश दिएका छन्।

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगी हुन सक्ने भएकाले वाणिज्य विभागले छड्के अनुगमन बढाएको छ। उपभोक्ता ठगी गरेको पाइए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि विभागले दिएको छ। चाडपर्वलाई लक्षित गरेर वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले सघन रूपमा अनुगमन गर्ने योजना बनाएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरिसकेको जनाएको छ। चाडपर्वमा करिब ३२ टोली परिचालन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

दसैं, तिहार लगायतका चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत पनि बढ्छ। चाडपर्वमा एक दर्जन टोली परिचालन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। चाडपर्वमा खाद्यान्न लगायतका वस्तुमा कालोबजारीको जोखिम हुने भएकाले अनुगमन बढाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए। ‘ठूलो व्यापारिक फर्ममा अनुगमन केन्द्रित गर्छौं,’ महानिर्देशक पौडेलले भने, ‘अनुगमनका लागि थप जनशक्ति पनि मगाएका छौं।’

बिदाको समयमा राजधानीबाट जन्मथलो फर्किने, अध्ययन, रोजगारी, कामको सिलसिलामा सहर पसेका गृह जिल्ला फर्किने भएकाले राजमार्गमा आवतजावत अत्यधिक बढेको हुन्छ। यही मौकामा राजमार्गका होटल तथा रेष्टुरेन्टमा अखाद्य वस्तु बिक्री गरेर उपभोक्ता ठगिने भएकाले विभागले अनुगमनलाई बढाउने गरेको छ। एकातर्फ न्यून गुणस्तरका खाद्य वस्तु बिक्री गर्ने र अर्कोतर्फ धेरै मूल्य पनि लिने गरेको छन्। व्यवसायीले मौकाको फाइदा उठाउँदै म्याद गुज्रेका गुणस्तरहीन सामग्री बेच्ने गरेको उपभोक्ताको गुनासो छ।

चाडपर्वमा उपत्यका लगायत देशभर टोली परिचालन गरेर अनुगमन गर्ने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। ‘चाडपर्वमा खाद्यवस्तुसहित होटल, रेष्टुरेन्टमा समेत अनुगमन बढाउछौं,’ कर्णले भने, ‘गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइए कारबाही हुन्छ।’ कर्णका अनुसार विभाग माताहतका २२ वटा डिजिभन कार्यालय, प्रादेशिक प्रयोगशाला, विभागको केन्द्रीय अनुगमन टोलीले अनुगमन गर्ने भएको छ। ‘दसैँअघिबाट सुरु भएको अनुगमन छठसम्म निरन्तर चलिरहन्छ,’ कर्णले भने, ‘नियमित अनुगमनलाई पनि निरन्तरता दिन्छौं।’

बजारमा बिक्री वितरण भएका खाद्यवस्तु अखाद्य पाइए कारबाही गर्ने विभागले जनाएको छ। खाद्य प्रविधिले बजार अनुगमनमा तेल, प्रशोधित पिउने पानी, बेसन, प्रशोधित दुध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पप, बन, बिस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु लगायतका वस्तुको नमूना संकलन गरेर परीक्षण समेत गर्ने गरेको छ। बजार अनुगमन गरी संकलन गरेका खाद्य वस्तुको नमूना परीक्षण गर्दा गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई कानुनी दायरामा ल्याउने विभागले जनाएको छ। आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन तथा खाद्य नियमावलीको प्रभावकारी कार्यान्वयन गर्ने विभागको दाबी छ।

विभागले म्याद गुज्रिएका, लेबल नभएका मसला, खाद्यान्न, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेललगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट पनि गर्दै आएको छ। गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने भएकाले कडाइ गरेको हो। उपभोक्ताले कुनै पनि वस्तु प्रयोग गर्दा खाद्य वस्तुको नाम, उत्पादकको ठेगाना, ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति, सम्मिश्रण गरिएका खाद्य वस्तुहरूको नाम र लेबलको बारेमा जानकारी लिएर मात्र प्रयोग गर्न विभागको सुझाव छ।

बजारमा हुने अनियमित गतिविधिलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन्। चाडपर्वको मौका किनबेच धेरै हुने भएकाले उपभोक्ता ठगिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। ‘सरकारी निकायले प्रभावकारी अनुगमन बढाउनुपर्छ,’ उनले भने, ‘उपभोक्तालाई ठगिनबाट जोगाउनु राज्यका निकायको दायित्व हो।’

प्रकाशित: १५ आश्विन २०८१ ०७:५८ मंगलबार

#Rajan Paudel #Sanjeev kumar Karna #Market