अर्थ

वर्षाले ११ सय मेगावाट विद्युत् अवरुद्ध

जलविद्युत् र सिँचाइमा चार अर्ब बढी क्षति

काबेली करिडोरमा भाँचिएको विद्युत् प्रशारण लाइनको टावर। तस्बिर: नागरिक

अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ  भएको छ।

बाढीले ऊर्जा र सिँचाइतर्फ करिब पौने चार अर्ब रूपैयाँको क्षति भएको छ। बाढी र पहिरोले जलविद्युत् र सिँचाइमा करिब चार अर्ब ३५ करोड रूपैयाँ क्षति भएको विवरण आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

बाढीले दुई दर्जन बढी आयोजनामा क्षति पुगेको छ। जलविद्युत् आयोजनामा करिब तीन अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोड रूपैयाँ बराबर क्षतिको अनुमान गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए।

‘मुलुकभर भएको अविरल वर्षाले ठूलो धनजनको क्षति भएको छ,’ खड्काले भने, ‘विद्युत् र सिँचाइ क्षेत्रका पूर्वाधारमा क्षति पुग्यो।’

वर्षा धेरै जलविद्युत् आयोजना र प्रशारण लाइनमा असर पुर्‍याएको छ। विद्युत् आयोजनामा क्षति हुँदा ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका कायकारी निर्देशक कुलमान घिसिङले बताए।

‘चार सय ५६ मेगावाटको अपर तामाकोसी आयोजना बन्द हुँदा लोड व्यवस्थापनमा कठिनाइ छ,’ घिसिङले भने, ‘काबेली करिडोरका तीन वटा टावरमा क्षति हुँदा दुई सय मेगावाट विद्युत् पूर्वाञ्चलमा आउन सकेको छैन।’ विद्युत् अवरुद्ध हुँदा भारततर्फ निर्यातमा पनि समस्या भएको घिसिङले बताए। ‘अब निर्यात बन्द गरेर स्वदेशमै खपत गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।

खिम्तीबाट आउने टावरमा क्षति हुँदा काठमाडौं आउने दुई सय मेगावाट विद्युत् आउन नसकेको उनले बताए। त्यसैगरी, काबेली करिडोरका तीन वटा टावरमा क्षति हुँदा इलाम, पाँचथर, ताप्लेजुङमा विद्युत् प्रशारणमा समस्या भएको छ। तामाकोसीमा आएको बाढीले आठ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा परेको  घिसिङले बताए।

६ सय २५ मेगावाट जडित विद्युत् क्षमताका ११ वटा सञ्चालनमा रहेका र १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति भएको छ। त्यसैगरी, आपतकालीन अवस्थामा अधिकांश विद्युत्गृहको उत्पादन बन्द रहेकाले करिब ११ सय मेगावाट बराबरको उत्पादन रोकिएको हो। एक हजार १० मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति भएको छ।

काबेली कोरिडोरअन्तर्गत दमक–गोदक १३२ केभी प्रशारण लाइनको टावरमा क्षति हुँदा करिब पाँच करोड २५ लाख रूपैयाँ, खिम्ती–लामोसाँगु १३२ केभी प्रशारण लाइनको टावरमा क्षति हुँदा एक करोड ५० लाख रूपैयाँ क्षति पुगेको छ। अपर तामाकोसी जलविद्युत् आयोजनाको बाँध स्थलमा अवस्थित नियन्त्रण कक्षमा पूर्ण क्षति भएको छ।

अपर त्रिशुली–१ को क्याम्प हाउस, पहुँच मार्ग र तीन वटा कन्टेनर बगाउँदा करिब १० करोड क्षति भएको छ। बागमती साना जलविद्युत् आयोजनामा विद्युत् गृह पूर्णरूपमा क्षति हुँदा करिब एक अर्ब क्षति भएको छ।

पाँचथरको तल्लो हेवाखोलामा करिब २५ करोडको क्षति भएको छ। माइखोला क्यास्केड जलविद्युत् आयोजनामा पाँच करोड, माइखोला जलविद्युत्मा सात करोड, फेमेखोला जलविद्युत् लमजुङमा १० करोड, सिउरी खोला जलविद्युत्मा दुई करोड, हेवाखोला संखुवासभामा १० करोड रूपैयाँ क्षति भएको मन्त्रालयले जनाएको छ।

 त्यसैगरी, सभाखोला बिमा सात करोड, सभाखोला सी पाँचथरमा तीन करोड, लान्दु्रक मोदी जलविद्युत्मा आठ करोड, सुपर त्रिशुली जलविद्युत्मा २५ करोड, लाङटाङ खोला रसुवामा, खानीखोला जलविद्युत् ललितपुरमा १० करोड, टुङ्गुन डोस्ने खानीखोला ललितपुरमा १५ करोड क्षति पुगेको अनुमान गरिएको छ।

त्यसैगरी, मायाखोला संखुवासभा, लाम्चेखोला दोलखा, भोटेकोसी–१ सिन्धुपलाञ्चोक, तल्लो सोलु सोलखुम्बु, तनहुँ जलविद्युत्, रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा क्षति भए पनि यकिन विवरण आउन बाँकी रहेको छ। बाढीले क्षति भएका जलविद्युत् आयोजनाको बिमा बापतको रकम छिटो निकासा गर्ने व्यवस्था मिलाउन इप्पानले माग गरेको छ।

बाढीले गण्डकीबाहेक सबै प्रदेशका हाइटेन्सन पोलमा क्षति भएको छ। लुम्बिनीमा ४१ वटा पोल, कर्णालीमा दुई सय १२, सुदुरपश्चिम ४२ वटा, कोसीमा एक सय ८२, मधेशमा एक सय ४८, बागमतीमा तीन सय ९४ हाइटेन्सन पोलमा क्षति पुगेको छ।

त्यसैगरी महाकाली सिँचाइ आयोजना कन्चनपुर लगायतका क्षेत्रमा एक अर्ब १४ करोड क्षति पुगेको छ। सुनसरी मोरङ सिँचाइ आयोजनामा पाँच करोड, बागमती सिँचाइ आयोजनामा पाँच करोड ४० लाख, कोसी पम्प चन्द्र नहरमा ५० लाख, कमला सिँचाइमा पाँच करोड रूपैयाँ क्षति भएको अनुमान गरिएको छ।

त्यसैगरी, नदी नियन्त्रणतर्फ पनि ठूलो क्षति भएको छ। मेची नदीमा २१ करोड, कोसी नदीमा पाँच करोड ४० लाख, खाँडो नदी नौ करोड ८० लाख, रातो नदी महोत्तरीमा चार करोड, कमला नदी सिराहमा पाँच करोड ५० लाख, नारायणी नदीमा २३ करोड, मस्र्याङ्दी नदीमा आठ करोड ५० लाख, तिनाउ नदीमा ६ करोड, पश्चिम राप्तीमा पाँच करोड ५० लाख, कर्णाली नदीमा तीन करोड ५० लाख रूपैयाँ क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित: १४ आश्विन २०८१ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App