अर्थ

बेथिति रोक्न खोज्दा सरुवा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेका छन् । व्यापारीको प्रभावमा परेर दाहाललाई मन्त्री यादवले मंगलबार सरुवा गरेको आरोप लागेको छ।

दाहालले बजारको बेथितिलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाए पनि मन्त्री यादवले बजार अुनगमन रोक्न निर्देशन दिँदै आएका थिए । दाहाललाई मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेका छन् । दाहाल विभाग गएको करिब एक वर्षमात्र भएको थियो । मन्त्रीको निर्देशन नटेरी ठूला कर्पोरेट हाउसमा अनुगमन गर्दै मुद्दा दायर गर्ने तयारी गरेपछि दाहालको सरुवा भएको मन्त्रालय स्रोतको दाबी छ।

बजारमा हुने कालोबजारी, नाफाखोरी, बेथितिलाई नियन्त्रण गर्न स्थापना भएको विभागले बजार अनुगमनमा कडाइ गरेपछि व्यापारीले अनुगमन रोक्न दबाब दिँदै आएका थिए । ‘बजारमा राज्यको उपस्थिति भएन भने व्यापारीले मनपरी ढंगले उपभोक्तालाई लुट्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अनुगमनलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै विभागका डिजीको सरुवा गर्नुभयो।’

दसैं ताका विभागले दरबारमार्गका ब्रान्डेड पसलमा छापा हानेर कारबाही प्रक्रिया अघि बढाएपछि निजी क्षेत्रले बजार अनुगमन रोक्न लविङ गर्दै आएको थियो । स्रोतका अनुसार दाहालले काठमाडौंमा नाम चलेका अस्पताल, विद्यालय, बहुराष्ट्रिय कम्पनीविरुद्ध करिब ३०–४० फाइल तयार गरेका थिए।

बयोदा, नर्भिक, बिएन्डबी, बाँसबारी न्यूरो, ग्रान्डी लगायत चर्चित अस्पतालले अतिरिक्त शुल्क लिएर बिरामीलाई ठगेको अनुगमनको क्रममा भेटिएको विभागले जनाएको छ । ती अस्पतालविरुद्ध पनि विभागले मुद्दा अघि बढाएको छ । रातो बंगाला, जेम्स, युलेन्स, प्रिमियर, चाँदबाग लगायत विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२’ विपरीत विभिन्न बहाना बनाएर शुल्क लिएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । त्यसैगरी, दरबार्गका १३ व्यवसायीविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला प्रशासन कार्यालयले अहिले बकपत्र गराइरहेको छ।

बजार अनुगमनलाई फितलो बनाउन विभागका महानिर्देशकको सरुवा गरेको उपभोक्ता अधिकारकर्मीको आरोप लगाएका छन् । ‘राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा समय नपुग्दै सरुवा गरेर निरुत्साहित गरिएको छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले भने, ‘मन्त्री सुशासनको पक्षमा उभिनुपर्छ ।’व्यापारीको प्रभावमा परेर विभागका महानिर्देशकको सरुवा गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । ‘ठगी गर्नेलाई कारबाही अघि बढाउँदा महानिर्देशकको सरुवा भएको छ,’ उनले भने।

मन्त्री यादवले बजारको बेथितिबारे जानकारी लिनै नचाहेको दाहालले बताए । उपभोक्ता ठगी भएको प्रमाणसहित मन्त्रीलाई फाइल बुझाए पनि सुनुवाइ नभएको उनको गुनासो छ । बजारमा देखिएको बेथिति रोक्नको लागि आफू क्रियाशील रहेको दाहालले बताए । ‘बजारको बदमासी रोक्नुपर्छ भनेर अघि बढेको थिएँ,’ दाहालले भने, ‘अनुगमन फितलो भए कर्पोरेट सेक्टरको साम्राज्य तोड्न सकिँदैन।’

‘उपभोक्ता ठगेको प्रयाप्त प्रमाण छन्,’ दाहालले भने, ‘तर, मन्त्रीज्यूले बुझ्नै चाहानु भएन ।’ बजारमा देखिएको बेथिति रोक्न आफू क्रियाशील रहेको दाहालले बताए । ‘बजारको बदमासी रोक्नुपर्छ भनेर अघि बढेको थिएँ,’ दाहालले भने, ‘अनुगमन फितलो भए कर्पोरेट सेक्टरको साम्राज्य तोड्न सकिँदैन ।’
 

प्रकाशित: २२ चैत्र २०७४ ०२:२९ बिहीबार

बेथिति रोक्न खोज्दा सरुवा