अर्थ

विश्व पर्यटन दिवस: पर्यटन प्रवर्द्धन नहुँदा व्यवसायी असन्तुष्ट

सरकारले विश्व पर्यटन दिवस मनाउँदै गर्दा मुलुकका पर्यटन व्यवसायीहरू भने खुसी हुन सकिरहेका छैनन्। यसो हुनुको मुख्य कारण मुलुकमा भित्रिएका पर्यटकको आगमन संख्या हो। यही कारण उनीहरूमा पर्यटन दिवसको उल्लास देखिँदैन।

मुलुकको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेर जति मात्रामा सरकारले पर्यटक भित्र्याउनु पर्ने हो त्यसो गर्न नसकेका कारणले पर्यटन व्यवसायीहरू सरकारप्रति असन्तुष्ट भएका हुन्। कोभिड महामारी अघि र पछि मुलुकमा पर्यटन पूर्वधारको विकास र विस्तारमा निकै ठूलो अन्तर आइसकेको छ। निजी क्षेत्रले पर्यटकीय पूर्वाधारहरूको विकास गर्न गरेको लगानीका कारण हाल ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास भइसकेको छ। सरकारले भने अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ गर्न नसक्दा यस क्षेत्रमा आवद्ध व्यवसाय तथा व्यवसायीहरू सरकारको पर्यटनप्रतिको काम देखेर असन्तुष्टि व्यक्त गरिरहेका छन्।

पर्यटन आगमनको सरकारी तथ्यांक हेर्ने हो भने पछिल्लो पाँच वर्षमा करिब ३२ लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ देखि २०२३ सम्ममा मुलुककमा ३१ लाख ८० हजार आठ सय ८९ जना पर्यटक नेपाल भित्रिएका थिए।

कोभिडअघि सन् २०१९ मा सबैभन्दा बढी पर्यटक मुलुक भित्रिएका थिए। त्यस वर्ष ११ लाख ९७ हजार ९१ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए। सन् २०१९ को डिसेम्बरमा विश्वव्यापी कोभिड महामारी फैलिएपछि भने पर्यटक आगमन घट्दै गयो। पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० मा दुई लाख ३० हजार ८५ र २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक मात्र नेपाल भित्रिए। कोभिडका कारण विभिन्न मुलुकले मानिसहरूलाई आउजाउ गर्न रोक लगाएपछि पर्यटन क्षेत्र ठप्प हुन पुगेको थियो।

सन् २०२२ पछि पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थाल्यो। परिणामस्वरूप मुलुकमा पर्यटकको आगमन हुन थाल्यो। सोहीक्रममा सन् २०२२ मा ६ लाख १४ हजार आठ सय ६९ जना पर्यटक नेपाल भित्रिए। त्यसपछि भने क्रमशः पर्यटकको आगमन वृद्धि हुन थाल्यो। कोभिड महामारी अन्त्य भएपछि निजी क्षेत्रले मुलुकको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गरेकाले उनीहरूकै विशेष पहलले सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिए।

बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरभित्र एक वर्षमा कुल १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो आगमन सन् २०२२ को तुलनामा चार लाख सात सय २८ जनाले बढी हो।

पर्यटन क्षेत्रको विकास र विस्तारलाई सफल पार्ने भन्नु नै मुलुकमा धेरै भन्दा धेरै पर्यटक ल्याउनु हो। यसका लागि सरकारले अविलम्ब हवाई सम्पर्क बढाउनु आवश्यक रहेको नेपाल होटल एसोसियसनका महासचिव साजन शाक्यले बताए। पर्यटकका लागि होटल, रेष्टुरेन्ट, ट्रेकिङ रूट तयार हुँदा पनि हवाई सम्पर्क बढाउन नसकेकै कारण धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन नसकेको उनको बुझाइ छ। ‘पर्यटन क्षेत्रलाई बलियो बनाउन सरकारले आफ्नै जहाज चलाउनुपर्छ’, महासचिव शाक्यले भने, ‘सरकारले कम्तिमा पनि १० वटा जहाज मार्फत बढीभन्दा बढी मुलुकमा सिधा हवाई उडान गर्न थाल्नुपर्छ।’

सरकारले पर्यटन रणनीतिक योजना अनुसार विश्वव्यापी रूपमा नेपालको पर्यटन ब्रान्डिङ गर्ने र स्वदेश तथा विदेशमा नेपालको पर्यटनको छवि विस्तार कार्य गर्न ढिलो गर्न नहुने पर्यटन क्षेत्रका जानकार जयराम घिमिरेले बताए।

‘पर्यटन क्षेत्रहरू र पर्यटकीय उपजहरूलाई प्राथमिकीकरण गर्ने, निजी क्षेत्रलाई सहयोग एवं सहजीकरण गर्ने, नीति तथा ऐन–नियम र संस्थागत संरचना सुधार गर्ने, पर्यटन क्षेत्रमा प्राविधिक जनशक्तिको विकास गर्ने स्थानीय स्रोतहरूको प्रायोगमा जोड दिने जस्ता रणनीतिक योजना सरकारले कार्यान्वयन गर्नुपर्छ’, घिमिरेले भने। यसका साथै उनले पर्यटकलाई द्विविधा हुने सरकारी नियम खारेज गरेर पर्यटकहरूको बसाइलाई सहज र सूविधापूर्ण बनाउने कार्यमा सरकार लाग्नुपर्ने बताए।

पर्यटनको महŒव र समाजमा यसको प्रभावबारे चेतना फैलाउन हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। भावी पुस्ताका दिगो पर्यटन उद्योग प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सरकारले यस पटकको पर्यटन दिवस मनाउँदैछ। सरकारले विश्व पर्यटन दिवस मनाइरहँदा पर्यटन रणनीतिक योजना अनुसार लगानी र व्यावसायिक वातावरण सुधार गर्ने वातावरण तयार गर्नुपर्छ। पर्यटन व्यवसायमा सुविधा तथा सेवाहरूको विस्तार गर्ने कार्यालाई प्राथमिकतामा राख्नुपर्छ। गुणस्तर, आवास, बसाइ, खाना, सुरक्षा र सार्वजनिक क्षेत्रका सेवाहरूमा सुधार गरेर पर्यटकलाई सहजिकरण गर्नुपर्छ। यस्तै पर्यटन क्षेत्रको विकास र दिगो वृद्धिका लागि प्रभावकारी संस्थागत र नियमनकारी संरचनाको विकास गर्ने जस्ता पर्यटन रणनीतिक योजनालाई कार्यान्वयन गर्न ढिलो गर्नु नहुने व्यवसायीहरू बताउँछन्।

प्रकाशित: ११ आश्विन २०८१ ०९:०० शुक्रबार