अर्थ

सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले बिहीबार विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरे।

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो।

सोही कार्यक्रममा उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महŒवपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपयोगबाट बञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए। शुभारम्भसँगै नवलपरासी जिल्लामा पूर्णरूपमा विद्युतीकरण भएको छ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत् सेवा उपलब्ध थियो। ३५० भन्दा बढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए। सुस्तामा गण्डक सबस्टेसनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुंगे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ। मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा पनि व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे।

‘हामीले एकसय किलोवाट क्षमताको सौर्य मिनीग्रिड प्रणालीलाई पनि राष्ट्रिय ग्रिडमा सफलतापूर्वक जोडेका छौं, सुस्ता गाउँपालिका–५ मा निर्माण भएको यो परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ‘तराई मधेश समृद्धि कार्यक्रम’ र सुस्ता गाउँपालिकाको सहयोगमा २०७७ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थियौं’, उनले भने ।

परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडी दिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाइ छ उनले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्न सरकार योजनाबद्ध ढंगले लागेको बताए। राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ थियो। ऊर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत् पुर्‍याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटोतिर लैजानु पनि भएको बताए। सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिनेसमेत बताए।

यसैबीच, राष्ट्रपति पौडेलले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित नेपालकै सबैभन्दा लामो त्रिवेणी–महेशपुर (सुस्ता) एक हजार पाँच सय ७१ मिटर झोलुंगे पुलको समेत उद्घाटन गरे।

शहरी विकास मन्त्रालयबाट निर्माण गरिएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरीविकास मन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताए।

प्रकाशित: ११ आश्विन २०८१ ०८:१९ शुक्रबार

#Deepak Khadka #Ramchandra Poudel #Prakash Man Shing #SuSta