अर्थ

‘घाट’ नै मासेर बालुवा उत्खनन्

अवैध बालुवा उत्खनन् र नदी दोहनका कारण घाट नै मासिएको दोलखाको तामाकोसीस्थित त्रिवेणी ‘घाट’ क्षेत्रमा बिहीबार शव दाहसंस्कार गर्र्दै सर्वसाधारण । तस्विर : रमेश/नागरिक

दोलखा – जथाभावी दोहनले खाल्डैखाल्डा बनेको तामाकोसी नदीमा अवैध बालुवा संकलनका कारण दाहसंस्कार गर्ने घाट नै मासिएको छ।

पुनर्निर्माणमा निर्माण सामग्री अभावको फाइदा उठाउँदै जिल्लाको तामाकोसी नदी क्षेत्रबाट अवैध रुपमा जथभावी बालुवा उत्खनन् गरिरहेकाहरुले शव जलाउने घाट नै मासिदिएका हुन्।

तामाकोसी नदी र चर्णावतीको संगमस्थल त्रिवेणीको घाट जथाभावी बालुवा उत्खनन्ले खाल्डैखाल्डामा परिणत भएको छ । नदीमा शव जलाउनका लागि चित्ता बनाउने क्षेत्रभरी ठूला–ठूला खाल्डा परेका छन् । तामाकोसी नदीस्थित त्रिवेणी क्षेत्रमा दाहसंस्कारका लागि गरिने कार्यमा अवरोध पुग्नेगरी नदी किनारको संरचना नै बदलिँदै गएको छ।

त्रिवेणी भीमेश्वर नगरपालिकाको चरिकोट बजारदेखि ४, ५, ६ र ७ नम्बर वडाका बासिन्दाको मृत्यु संस्कारमा शवदाहन गर्ने घाट हो । कतिपयले नयाँपुल बजारसम्म गाडीमा शव ल्याएर घाटसम्म बोकेर लैजान्थे । तर बोकेर लैजाने बाटो नै मासेर बालुवा निकाल्न घाटसम्मै सडक खनिएको छ । ट्रिपर आउजाउका कारण अस्तव्यस्त बनेको उक्त सडक हुँदै बोकेर घाटसम्मै शव लैजान कठिन हुने गरेको स्थानीयले बताए।

घाटनजिक बनेको पाटी हुँदै जाने पैदल बाटो नै काटेर सडक खनिएको छ । त्यस्तै शव जलाएर आराम गर्ने चौतारो आसपास खाल्डाखुल्डीले कुरुप बनेको छ । चरिकोटका स्थानीय राजेश विश्वकर्माका अनुसार घाट नै मासिएका कारण शव जलाउनै अफ्ठेरो परेको छ । ‘दैनिक जति शव आएपनि दाहसंस्कार गर्न कुनै अफ्ठेरो थिएन,’ बिहीबार मलामी आउँदा घाटनजिक भेटिएका उनले भने, ‘अहिले त छेउमा एउटा शव जलाउने अलिकति ठाउँबाहेक सबै क्षेत्र मासिएछ ।’ जथाभावी दोहनले चैत्यघाटमा समेत खाल्डैखाल्डा परेको छ । चैत्यघाट जफे, घ्याङ, भिरकोट, पवटीलगायत गाउँहरुको मृत्युपर्यन्त दाहसंस्कार गर्ने ठाउँ हो ।    
गैरकानुनीलाई प्रशासनले रोक्यो
तामाकोसी नदी आसपास जथाभावी दोहनबारे नागरिक दैनिकमा समाचार प्रकाशन भएपछि प्रदेश सरकारको ध्यानाकर्षणलगत्तै स्थानीय प्रशासनले सबै स्थानमा अवैध रुपले चलेका खानी बन्द गराएको छ । समाचार प्रकाशनपछि प्रदेश नम्बर ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले तत्काल नदीदोहन रोक्न प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई निर्देशन दिएका थिए।

 दुई दिनअघि जिल्ला प्रशासन कार्यालयले सबै अवैध बालुवा खानीलाई अर्को आदेश नहुञ्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो । सहायक प्रजिअ बालकृष्ण कटवालको संयोजकत्वमा गठित अनुगमन समितिले तामाकोसी नदीका सबै खानी बन्द गराएको थियो । अनुगमन समितिका संयोजक कटवालले गैरकानुनी खानी तथा क्रसर उद्योग बन्द गर्न निर्देशन दिइसकिएको जानकारी दिए । उनले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार कुनैपनि स्थानमा बालुवा निकालेको नदेखिएको जानकारी दिए।

जिल्ला समन्वय समितिले ठेक्का नलगाएका स्थानमा समेत बालुवा उत्खनन् भेटिएको समितिका एक सदस्यले जानकारी दिए । समितिले शुक्रबार अध्ययन प्रतिवेदन बुझाउने तयारी गरेको छ ।दोलखामा प्रजिअ, प्रहरी प्रमुखको संरक्षण र जनप्रतिनिधिको मिलेमतोमा अवैध रुपले तामाकोसी नदीमा बालुवा खानीहरु सञ्चालन हुदै आएका थिए।


 

प्रकाशित: २२ चैत्र २०७४ ०१:५८ बिहीबार

घाट नै मासेर बालुवा उत्खनन्