अर्थ

एक वर्षमा पाँच खर्बले बढ्यो विदेशी विनिमय सञ्चिति

मुलुकको आन्तरिक अर्थतन्त्र अझै संकुचनमा रहे पनि बाह्य तथ्यांकमा भने उल्लेख्य सुधार आएको छ। एक वर्षको अवधिमा मुलुकमा विदेशी विनिमय सञ्चिति करिब पाँच खर्ब रूपैयाँले बढेको छ। आयात व्यापार सुस्ताउँदा र रेमिटेन्स आप्रवाह वृद्धि हुँदा विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य वृद्धि भएको हो।

२०८० को साउन मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रूपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रूपैयाँ पुगेको छ। यसरी हेर्दा एक वर्षको अवधिमा विदेशी विनिमय सञ्चिति पाँच खर्ब १९ अर्ब १० करोड रूपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर रहेकोमा साउनमा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड रूपैयाँ पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० साउन मसान्तमा ११ अर्ब ८५ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड डलर पुगेको छ। आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुयैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा साउन मसान्तमा ८.४ प्रतिशतले वृद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड कायम भएको छ। २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ।

विदेशी विनिमय सञ्चिति मात्र नभएर रेमिटेन्स आप्रवाहमा वृद्धि भएको छ। शोधनान्तर स्थिति र चालु खाता बचतमा सुधार आएको छ। बाह्य सूचकमा सुधार भए पनि अर्थतन्त्र चलायमान हुनुपर्ने भए पनि हुन नसकेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए।

‘बाह्य सूचकको सुधारले अर्थतन्त्रमा संकट आउन दिँदैन,’ थापाले भने, ‘आयात घटेको र रेमिटेन्स बढेकाले विदेशी मुद्रा सञ्चिति बढेको हो।’

चालु आवको पहिलो महिना साउनमै विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार नौ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रूपैयाँले मात्र बचतमा रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रूपैयाँले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको थियो।

प्रकाशित: ११ आश्विन २०८१ ०६:२३ शुक्रबार

# Foreign exchange reserves # Internal economy