अर्थ

मुल्यवृद्धि ४.१० प्रतिशतमा सीमित, काठमाडौंमा भन्दा तराईंमा बढ्यो महंगी

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि) ४.१० प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा कम हो।

अघिल्लो आर्थिक वर्षको साउनमा मुल्यवृद्धि ७.५२ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि भए पनि गैरखाद्य समूहको मूल्य नियन्त्रणमा रहेकाले मुद्रास्फीति कम भएको राष्ट्र बैंकको भनाइ छ।

बिहीबार सार्वजनिक  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ मा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमात्र छ। तरकारी उपसमूहको उपभोक्ता सूचकांक भने १९.०७ प्रतिशतले बढेको छ।

दाल तथा गेडागुडीको १२.०९, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ३.३६ प्रतिशत र मरमसला उपसमूहको मूल्य भने २.७५ प्रतिशतले बढेको छ।

यस्तै विविध वस्तु तथा सेवा उपसमूहको मूल्य ७.९४ प्रतिशत, मदिरा ५.३८, कपडा तथा जुत्ताचप्पल ४.४८ र सुर्तीजन्य वस्तुको ३.५२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशत र सहरी क्षेत्रको ४.०३ प्रतिशतले बढेको छ। कोसीमा ४.६१, मधेशमा ४.१७, बागमतीमा ३.४९, गण्डकीमा ३.९०, लुम्बिनीमा ३.८१, कर्णालीमा ३.४६ र सुदूरपश्चिममा ६.६९ प्रतिशतले बढेको छ।

काठमाडौं उपत्यकामा ३.६२, तराईमा ४.४९, पहाड ३.६७ र हिमालमा ४.५३ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: १० आश्विन २०८१ १४:२४ बिहीबार

#price rise #Nepal Rastra Bank