अर्थ

वाइवाइ: नेपाली उद्यमशीलताको विश्वव्यापी सफलता

विनोद चौधरी व्यवसायी त थिए तर स्थापित र चर्चित भने थिएनन्। व्यवसाय विस्तार गर्नुपर्छ भन्ने हुटहुटीचाहिँ थियो। उनी परम्परागतभन्दा नयाँ व्यवसाय सुरु गर्न चाहन्थे।

व्यावसायिक कामको सिलसिलामा स्वदेश एवम् विदेश यात्रा गरिरहन्थे। २०४० सालतिर, विदेश यात्राकै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट आयातित चाउचाउ देखेपछि चौधरीलाई लाग्यो– नेपालमै यस्तो उत्पादन किन नगर्ने ? यसपछि उनले थाइल्यान्ड गएर चाउचाउ उद्योगको अध्ययन गरे।

नेपालमा चाउचाउ उद्योग स्थापना गर्न अध्ययन गराउनुका साथै प्राविधिक सपोर्ट गर्न विज्ञलाईसमेत बोलाए । उनीहरूले भने नेपालमा फ्याक्ट्री नखोल्न सल्लाह दिए।

वाइवाइ स्थापनाका प्रारम्भिक दिनको स्मरण गर्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भन्छन्, ‘एउटा फयाक्ट्री स्थापना गर्न दैनिक ३० हजार प्याकेट चाउचाउ बजारमा खपत हुनुपथ्र्यो तर नेपालमा त्यो अवस्था थिएन। त्यसैले मलाई वाइवाइ उत्पादन नगर्न सुझाव दिइएको थियो।’ चौधरीले भने कारखाना खोल्ने दृढ इच्छाशक्ति लिएर चाउचाउ उद्योग स्थापना गरे।

चौधरीले दिने यो उदाहरण बाटा ब्रान्डको रोचक कथासँग पनि जोडिन्छ। बाटा ब्रान्ड अफ्रिकामा विस्तार गर्न एउटा विज्ञ टोली खटिएको थियो। विज्ञ समूहले रिपोर्ट दियो, ‘अफ्रिकामा कसैले पनि जुत्ता चप्पल लगाउँदैनन्, त्यसैले यहाँ कारखाना खोल्ने योजना ड्रप गर्नुपर्छ।’

बाटाका प्रवर्धकले विज्ञ समूहले दिएको फाइल दराजमा राखे अनि कारखाना खोल्न अफ्रिकातिर लागे। किनभने अफ्रिकामा उनीहरूको व्यापार चम्कनेछ भन्नेमा उनी स्पष्ट थिए। त्यसबेलासम्म अफ्रिकामा कसैले जुत्ताचप्पल उत्पादन गरेकै थिएन। उत्पादन नै नभएपछि कसरी उपभोक्ताले लगाउन्? नभन्दै, बाटा अफ्रिकामा चम्कियो र विश्वकै प्रख्यात ब्रान्ड बन्न सफल भयो।

बाटाका प्रवर्धक जस्तै चौधरीले पनि तत्कालीन समयमा जोखिम मोलेर वाइवाइको चाउचाउ उद्योग स्थापना गरे। त्यही वाइवाइ अहिले नेपालमा मात्र होइन, विश्वकै ब्रान्ड बनेको छ।

करिब चार दशकअघि नेपाली उद्यमी बिनोद चौधरीले उठाएको साहसिक कदमले नेपालमा उत्पादन भएको चाउचाउ विश्व बजारमा स्थापित बन्न सक्यो। २०४१ सालमा नेपालमा चाउचाउ उत्पादन गर्ने कल्पना गर्नु नै ठूलो कुरा थियो तर चौधरीको दृढ संकल्प र दूरदर्शी सोचले उनलाई अघि बढ्न प्रेरित ग¥यो।

२०४१ सालमा चौधरीले दैनिक ३० हजार प्याकेट उत्पादन क्षमता भएको वाइवाइ उद्योगको पहिलो प्लान्ट स्थापना गरेका थिए। सुरुका चुनौतीहरू पार गर्दै वाइवाइले छिट्टै नेपाली उपभोक्ताहरूको मन जित्यो। यसको स्वाद, सुलभता र सजिलो तयारीले गर्दा यो खाजादेखि मुख्य खानासम्म लोकप्रिय विकल्प बन्यो। ३० हजार प्याकेटको बजार छैन भनिएको वाइवाइ अहिले दैनिक एक करोड प्याकेट उत्पादन हुन्छ। वार्षिक तीन अर्ब प्याकेटभन्दा बढी खपत भइरहेको छ।

वाइवाइ उत्पादन गरेपछि माग बढ्न थाल्यो। वाइवाइको स्वादले आम उपभोक्तालाई आकर्षित गर्दै गयो। मानिसले खाजामा मात्र नभएर घरमा खाना पकाउन अल्छी लाग्यो भने पनि चाउचाउ उपभोग गर्न थाले।

सस्तो, स्वादिलो नुडल्स भएकाले आम उपभोक्ताको छनोटमा पर्‍यो। बालबालिकादेखि वृद्धसम्म, घरदेखि अफिससम्म, यात्रामा समेत खाजाको रूपमा वाइवाइ चाउचाउ प्रयोग गर्ने संस्कृति बढ्दै गयो। आम उपभोक्तामा माग बढ्दै गएपछि ललितपुरपछि नवलपरासीमा वाइवाइको प्लान्ट विस्तार भयो।

विश्व बजारमा आफ्नो उत्पादन स्थापित गर्नु कुनै पनि व्यवसायका लागि ठूलो चुनौती हो। नेपाल जस्तो भूपरिवेष्ठित, सीमित साधन स्रोत भएको र जटिल राजनीतिक वातावरण भएको देशबाट व्यवसाय सञ्चालन गर्नु आफैंमा कठिन कार्य हो। त्यसमाथि आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु त्यति सजिलो काम अवश्य होइन।

त्यसबेला नेपालमा पूर्ण व्यावसायिक वातावरण बन्न नसकिरहेको अवस्था पनि थिएन। अपर्‍याप्त  पूर्वाधार, बारम्बार परिवर्तन हुने नीति नियमहरू, राजनीतिक अस्थिरता र सीमित पूँजी जस्ता समस्याले गर्दा यहाँ व्यवसाय सुरु गर्नु र टिकाउनु नै चुनौतीपूर्ण छ।

यस्तो परिस्थितिमा कुनै उत्पादनलाई स्थानीय बजारमा स्थापित गर्नुलाई उपलब्धि मान्नुपर्ने अवस्थामा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु ठूलो सफलता हो। त्यो सफलता चौधरी ग्रुप र वाइवाइले प्राप्त गरेको छ।

जुनसुकै उत्पादनलाई विश्व बजारमा प्रवेश गर्न चाहने उद्यमीहरूले थुप्रै बाधाहरूको सामना गर्नुपर्छ। पहिलो चुनौती हो, गुणस्तरीय उत्पादन। विश्व बजारमा प्रतिस्पर्धा गर्न उच्च गुणस्तरको उत्पादन अनिवार्य हुन्छ, जुन प्रायः महँगो र प्राविधिक रूपमा चुनौतीपूर्ण हुन्छ।

दोस्रो लागत प्रतिस्पर्धा। नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशबाट ठूलो परिमाणमा उत्पादन गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्न निकै गाह्रो हुन्छ।

यसबाहेक अन्तर्राष्ट्रिय बजारको ज्ञान, व्यापार सम्झौताहरूको जटिलता, भाषा र संस्कृतिको भिन्नता र वैदेशिक मुद्रा विनिमयका जोखिमहरू पनि थप चुनौतीहरू हुन्।

यी सबै चुनौतीहरूका बाबजुद, केही नेपाली उद्यमीहरूले आफ्नो दृढ संकल्प, नवीन सोच र कडा परिश्रमको बलमा विश्व बजारमा आफ्नो छाप छोड्न सफल भएका छन्। यस्तै एक सफलताको कथा हो वाइवाइ चाउचाउ।

वाइवाइ सबैको रोजाइमा परेपछि बजारमा लोकप्रियता कमाउँदै गयो। एउटा प्लान्टको उत्पादनले बजारको माग धान्न नसकेपछि वाइवाइका प्लान्ट एकपछि अर्को थपिँदै गए। नेपालभित्र वाइवाइका अहिले नौ वटा प्लान्ट स्थापना भइसकेका छन्।

नेपालमा लोकप्रिय हुँदै गएको वाइवाइलाई चौधरीले छिमेकी मुलुक भारतमा विस्तार गर्ने सोच बनाएर निर्यात सुरु गरे। नेपालमा सफलता पाएपछि चौधरीले भारतीय बजारमा प्रवेश गर्ने साहसिक निर्णय लिएका थिए।

सन् २००६ मा उनले भारतको सिक्किममा पहिलो पटक वाइवाइको प्लान्ट स्थापना गरे, जसले पूर्वोत्तर भारतको बजारमा व्यापकता पाउने लक्ष्य राखेको थियो। यो कदमले वाइवाइको अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो।

अहिले कम्पनीले ३० भन्दा बढी फ्लेवरमा चाउचाउ उत्पादन गर्छ, जसमा शाकाहारी र मांसाहारी दुवै विकल्पहरू उपलब्ध छन्।

वाइवाइको यात्रा सन् १९८४ मा नेपालको ललितपुर भैंसेपाटीमा स्थापना गरिएको पहिलो प्लान्टबाट सुरु भएर, भारत, बंगलादेश, सर्बिया, कजाकस्तान, इजिप्टमा प्लान्ट स्थापना गरेर विश्वव्यापी रूपमा फैलिएको छ। हरेक नयाँ बजारमा प्रवेश गर्दा, कम्पनीले स्थानीय स्वाद र संस्कृतिलाई ध्यानमा राखेर आफ्नो उत्पादनलाई अनुकूलन गरेको छ।

आज वाइवाइ विश्वका ४० देशमा उपलब्ध छ। यसले विश्व चाउचाउ बजारको लगभग ३% हिस्सा ओगटेको छ। नेपालमा, कुल चाउचाउ बजारको ६५ प्रतिशत बजार हिस्सा वाइवाइले कायम राखेको छ।

चौधरी ग्रुपको महत्त्वाकांक्षी लक्ष्य छ, ‘सन् २०२८ सम्म भारतको चाउचाउ बजारमा ३५ प्रतिशत हिस्सा ओगटेर वार्षिक पाँच अर्ब प्याकेट उत्पादन गर्ने।’

वाइवाइ युरोपबाट उत्पादन हुने पहिलो नेपाली ब्रान्ड हो। सर्बियास्थित कारखानाबाट युरोपियन उपभोक्ताका लागि उत्पादन गर्ने काम मात्र हुँदैन, त्यहाँको कारखाना अगाडि गर्वका साथ चन्द्र–सूर्य झन्डा पनि फहराइरहेको छ। वाइवाइ जहाँ पुगे पनि त्यसको नेतृत्व नेपाली नागरिकहरूले गरेका छन्। नेपाली ‘हाकिम’को अधीनमा रहेर युरोपियन, अफ्रिकन र भारतीयहरूले काम गरिरहेका छन्।

‘मलाई लाग्छ, नेपालीहरूलाई वाइवाइले गर्व महसुस गराउने अर्को माध्यम भनेको जहाँ नेपालीहरू वैदेशिक रोजगारीका लागि मात्रै जाँदैनन्, आफ्नै ब्रान्डको नेतृत्व गर्दै सयौं विदेशी कर्मचारीहरूको सफलतापूर्वक नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण वाइवाइले स्थापित गरेको छ’, विनोद भन्छन्, ‘वाइवाइ आज विश्वका ४० देशमा पुगेको छ र यसको श्रेय त्यहाँ पुगेका नेपालीहरूकै हो।’

वाइवाइ सफल हुनुका पछाडि केही महत्त्वपूर्ण रणनीतिहरू छन्। प्रत्येक देशको खानपान संस्कृति र स्वाद अनुसार उत्पादन विविधीकरण गरिएको छ। कम्पनीको सुपर ल्याब र कडा गुणस्तर नियन्त्रणले उत्पादनको स्तर कायम राखेको छ।

वाइवाइ जिंक, अकबरे, चिकन, पेटपुजा, साथी, मामा, रिङटिङ, गोलमोल जस्ता विभिन्न प्रकारका उत्पादनले बजारमा विविधता ल्याएको छ। चाउचाउलाई जंक फुड भन्ने धारणा विरुद्ध कम्पनीले पोषण र स्वास्थ्यमा ध्यान दिएको छ। साथै, नयाँ स्वाद र प्याकेजिङमा लगातार नवीनता ल्याएको छ।

वाइवाइको सफलताले बिनोद चौधरीलाई केवल एक सफल उद्योगपति मात्र बनाएन, उनलाई विश्वका अर्बपतिहरूको सूचीमासमेत स्थान दिलायो। यो यात्राले चौधरी ग्रुपलाई बैंकिङ, आतिथ्य, पेय पदार्थ, अटोमोबाइल, सिमेन्ट, शिक्षा लगायत विभिन्न क्षेत्रमा विस्तार गर्ने अवसर प्रदान गर्‍यो।

अब चौधरी ग्रुपका थप महत्त्वाकांक्षी योजनाहरू छन्। सेप्टेम्बर १८ तारिखमा ब्लुमबर्गसँगको अन्तरवार्तामा विनोद चौधरीले भनेका छन्, ‘वाइवाइले निकट भविष्यमा भारतमा आइपिओ जारी गर्दै छ र यसले वाइवाइको विश्वव्यापी बजार विस्तारमासमेत सहयोग पुग्नेछ। वाइवाइले नेपाली उपभोक्तालाई पनि यसको स्वामित्व दिने योजना बनाएको छ।  

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भारतसँगै नेपालमा पनि वाइवाइको आइपिओ जारी गरिने आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेका छन्। चौधरीले भने , ‘वाइवाइलाई न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत गर्ने लक्ष्य छ।’

वाइवाइ नेपालको नम्बर एक ब्रान्ड बन्नुका मुख्य कारणहरूमा सही समय र सही ठाउँमा उत्पादन गर्न सक्नु हो। वाइवाइको सुलभ मूल्य र गुणस्तरले पनि यसको लोकप्रियता बढाएको छ। वर्षौंदेखि नेपाली उपभोक्ताहरूले यो चाउचाउलाई सुलभ मूल्यमा पाउँदै आएका छन्।

वाइवाइको कथा नेपाली उद्यमशीलताको एक उत्कृष्ट उदाहरण हो। यसले के देखाउँछ भने दृढ संकल्प, रचनात्मक सोच र गुणस्तरमा ध्यान दिँदा, नेपाली ब्रान्ड पनि विश्व बजारमा आफ्नो छाप छोड्न सक्षम हुन्छ।

 वाइवाइको यात्रा निरन्तर जारी छ र यसले नेपाली उद्यमीहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गरिरहेको छ। वाइवाइको कथाले चुनौतीहरू जतिसुकै ठूला भए पनि सही दृष्टिकोण र लगनशीलताले ती सबै पार गर्न सम्भव छ भन्ने प्रमाणित गर्छ।

प्रकाशित: ४ आश्विन २०८१ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App