अर्थ

हवाई क्षेत्र सुधारको खाका कोर्ने पहल

मुलुकको हवाई उड्डयन क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नेपाली आकाशमा पटकपटक हवाई दुर्घटना भएका छन्। नेपालको हवाई क्षेत्र असुरक्षित भएको जनाउँदै युरोपेली युनियन (इयु) को कालोसूचीबाट हटेको छैन।

पछिल्लो समय नेपालमा भइरहेका दुर्घटना विचार गर्दा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी एयरलाइन्स कम्पनी दुबैको विश्वसनीयता र गुणस्तर खस्कँदो अवस्थामा छ। यहीबीचमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पटकपटक मुलुकको हवाई क्षेत्रमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्रालय सम्हालेको दुई महिना पुग्दा उनको धेरैजसो चासोको क्षेत्र संस्कृति र पर्यटनभन्दा पनि हवाई उड्डयनलाई कसरी सुधार गर्न सकिन्छ भन्ने नै देखिएको छ। संस्कृति, पर्यटन र हवाई उड्डयन तीनै क्षेत्र एकअर्कामा अन्तरनिहित भए पनि मन्त्री पाण्डेले हवाई क्षेत्रलाई विषेश महत्त्व दिएर काम गरिरहेका छन्।

यसैबीच मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्। उनले नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी भएकाले नीतिगत हस्तक्षेप गरेरै राष्ट्रिय ध्वजा वाहक वायुसेवा निगमलाई सुधार्ने बताएका हुन्।

यस्तै उनले हवाई उड्डयनमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रीपरिषद्मा पुगिसकेको बताएका छन्। उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भइसकेको बताएका हुन्।

गत मंसिरमा युरोपियन युनियन (इयु) ले उडान सुरक्षा चासोको सूचीमा परेका एयरलाइन्सहरूको नयाँ सूची सार्वजनिक गर्ने क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीलाई कालोसूचीमै राखेर निरन्तरता दिएको थियो।

नेपाली वायुसेवा कम्पनीहरू सन् २०१३ देखि नै कालोसूचीमा परेका छन्। आइकाओले उठाएकामध्ये बहुसंख्यक चासो सम्बोधन भएका कारण सन् २०१७ जुलाईबाट नेपाललाई ‘गम्भीर सुरक्षा चासो’बाट हटाए पनि ‘सुरक्षा चासो’ दर्जाबाट हटाएको छैन।

यसैले मन्त्री पाण्डेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीबाट हटाउन नागरिक उड्डयन प्राधिकरणसँग रहेको नियामक र सेवा प्रदायकको भूमिका छुट्याएर एक मात्र राख्ने गरी पहल गरिरहेका छन्। आइकाओले सुझाएअनुसार प्राधिकरणसँग रहेको नियामक र सेवा प्रदायक भूमिका विभाजन गर्न मन्त्री पाण्डे सुरूदेखि नै लागि परेका हुन्।

यस्तै उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव पनि गरिसकेको बताएका छन्। उनले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्ने बताएका छन्।

मन्त्री पाण्डेले अहिले प्रस्तावित छानबिन समितिमा यसअघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने र अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्।

प्रधिकरणको तथ्याङक अनुसार नेपालमा हालसम्म एक सय आठ हवाई दुर्घटना भएको छ । सो हवाई दुर्घटनामा नौ सय ५९ जनाको मृत्यु भएको छ। दुर्घटनामध्ये विदेशी दर्ता विमान १० वटा भएको र त्यसमा तीन सय ७९ जनाको मृत्यु भएको छ।

त्यसैगरी हेलिकप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ भने सिंगल इन्जिन विमान आठ वटा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। यस्तै ‘फिक्स विङ’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

यस्तै पर्यटनमन्त्री पाण्डेले भारतको नयाँदिल्लीमा भएको आइकाओको दोस्रो क्षेत्रीय मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालनको विषय उठाएका थिए।

उनले हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू सर्टिफाइ भइसकेको आवस्थामा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी तवरले सञ्चालन गर्न छिमेकी मुलुकहरूसँग क्षेत्रीय सहयोगको अपेक्षा गरेका थिए।

सोही क्रममा आइकाओका युरोपियन युनियन एभिएसन सेफ्टिी एजेन्सी (इएएसए) का प्रतिनिधिहरूलाई उनले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीव्रता दिएको जानकारी गराएका थिए। साथै मन्त्री पाण्डेले आइकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार लगायतका विषयमा समेत जानकारी गराए।

यसै क्रममा मन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँगको भेटमा नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरूबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन्। साथै आइकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गरेका थिए उनले त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार भएको बताएका थिए।

यस्तै पर्यटनमन्त्री पाण्डेद्वारा विभिन्न देशका उच्च अधिकारीहरूसँगको भेटघाट तथा छलफलमा नेपालमा अन्तरदेशीय हवाई सेवा सञ्चालन गर्ने बारेमा कुरा गरिरहेको जानकारी मन्त्रालयले दिएको छ। उनले पर्यटन, संस्कृति, हवाई उड्डयन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेका बताउँदै संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने पनि बताएका छन्।

प्रकाशित: २ आश्विन २०८१ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App