अर्थ

मुस्ताङमा मंगलबारदेखि स्याउ टिप्न खुला

३० प्रतिशत उत्पादन बढ्ने अनुमान

स्याउबाटै मुस्ताङले यो वर्ष ७५ करोड कमाउँदै

मुस्ताङको बगैंचामा फलेको स्याउ। मुस्ताङमा असोज १ पछि मात्र स्याउ टिप्न पाइन्छ। तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मुस्ताङमा मंगलबारदेखि स्याउ टिप्न पाउनेगरि खुला भएको छ। गुलियोपन कम हुने भन्दै असोज १ अगाडि स्याउ टिप्न नपाइने निर्णय जिल्लामा भएको थियो। पछिल्लो केही वर्षदेखि सबैखाले स्याउ असोज १ पछि टिप्न पाउनेगरि खुला गर्ने गरिएको छ।  

तर, कतिपय जातका स्याउ भने भदौ मध्यदेखि नै टिप्न पाउने पनि व्यवस्था रहेको छ। यतिबेला टिप्न थालिएको स्याउ अबको केहीदिनमा बजारमा आउने किसानले बताएका छन्। यो पटक जिल्लामा स्याउ पनि राम्रो उत्पादन भएको किसानले बताएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई (स्याउ जोन) जोमसोमका अनुसार योवर्ष असोज १ पछिमात्र मुस्ताङको स्याउ टिपेर बजार ल्याउन पाइने निर्णय भएको थियो। ठेकेदारले बगैंचाबाटै स्याउ खरिद गरिसकेको भएपनि टिप्न भने थालिएको थिएन। केहीवर्ष अघिसम्म त्यहाँ भदौ पहिलो साता नै स्याउ टिप्ने गरिएको थियो। तर, राम्रोसँग पाक्न नपाउँदै टिप्दा त्यसको वास्तविक स्वाद नपाइएको भन्दै पछिल्लो दुइवर्षदेखि स्याउ टिप्ने समय तोक्न थालिएको थियो।  

‘असोज १ देखि बल्ल स्याउ टिप्न पाउनेगरि खुला भएको छ,’ मुस्ताङका स्याउ किसान राजु लालचनले भने, ‘उच्च घनत्व (हाइ डेन्सिटी)को स्याउ त यसअघि नै बजारमा आइसकेको छ। हाइ डेन्सिटीको स्याउ भदौ १५ देखि नै टिप्न पाइन्छ। किनकी त्यो छिटो पाक्ने जातको स्याउ हो।’ तर, स्थानीय जातको अरु स्याउ भने असोज १ पछि मात्र टिप्न पाइने उनले बताए।  

‘अहिले भने मुस्ताङमा सबै खाले स्याउ पाकेको छ। किसानले धमाधम टिप्न थालेका छन्। बगैंचामा ठेकेदार पनि आएका छन,’ लालचनले भने, ‘पोहोर भन्दा यो वर्ष फल पनि राम्रो लागेको छ। यसले उत्पादन बढाएको छ। किसानको आम्दानी पनि बढेको छ।’ लालचनका अनुसार किसानले अहिले बगैचाबाट हाइ डेन्सिटीको स्याउ किलोको २ सय रुपैयाँमा बिक्री गरिरहेका छन् भने स्थानीय जातको स्याउलाई किलोको १ सय २० रुपैयाँसम्म बिक्री गरिरहेका छन।

‘ठेकेदार पनि आएका छन्। स्थानीय किसानले आफैले टिपेर बिक्री पनि गरिरहेका छन। किसानलाई यो बेला स्याउ टिप्न भ्याई न भ्याई छ। बगैचामा भीडभाड छ,’ उनले भने, ‘बजार अभाव छैन। टिपेको स्याउ कार्टुनमा प्याक गरेर पोखरा, काठमाडौं सहितका सहरमा बिक्रीका लागि पठाइन्छ।’ 

उनले पनि पोहोरको तुलनामा यो वर्ष स्याउमा राम्रो फल लागेको बताए। ‘हिउँ त खासै परेको होईन। तर, पानी परेन। स्याउका लागि पानी पर्नु राम्रो होईन,’ उनले भने।  

परियोजनाका निमित्त प्रमुख वरिष्ठ कृषि अधिकृत नेत्रप्रसाद भट्टले पनि असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरि निर्णय भएपछि यतिबेला मुस्ताङको स्याउ बगैंचामा किसानको भीडभाड रहेको बताए। ‘केही वर्षअघिसम्म तीजकै बेला पारेर स्याउ टिप्ने गरिएको थियो। बेला नपुग्दै टिपेको स्याउमा स्वाद आएन। त्यही भएर सबैको सल्लाहमा असोज लागेपछि मात्र स्याउ टिप्न पाउने निर्णय भएको हो। तीनवर्षदेखि त्यही निर्णय कार्यन्वयन भईरहेको छ। यसअघि किसानले भित्री रुपमा केही टिपेर बेचेको भएपनि आधिकारिक रुपमा असोज १ देखि स्याउ टिप्न खुला भएको छ,’ उनले भने।  

मुस्ताङको स्याउ देशभर प्रख्यात छ। चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो। भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्राण्डको स्याउ भने केहीदिन अघि नै पाकिसकेको छ। केही किसानले ती जातका स्याउ टिपिसकेका पनि छन। हाइ डेन्सिटीमा गाला, किङरोट, गोल्डेन डेलिसियस, फुजी, र जोनाप्रिन्स जातको स्याउ हुन्छ। अरु भन्दा केही समय छिटो पाक्ने यो स्याउ भदौ मध्यपछि टिप्नयोग्य हुने गरेको छ। एकरोपनी क्षेत्रफलमा १ सय ५० देखि १ सय ८० वटासम्म बोट रोपिने यो स्याउको विरुवाले रोपेको छोटो समयमै उत्पादन दिन थाल्छ।  

 

उनका अनुसार हाइ डेन्सिटी एकमिटरको फरकमा रोपिने जात हो। यो जातको सानो बोटमा लटरम्म दाना लाग्छन। तर स्थानीय जातको विरुवा भने एकरोपनीमा १५ देखि १८ वटा रोपिन्छ। स्थानीय जातको ठुलो रुख नै हुन्छ। उनका अनुसार मुस्ताङमा हाइ डेन्सिटीको स्याउ खेती करिब ६० हेक्टर क्षेत्रफलमा मात्र गरिएको छ। पोहोरसम्म यो क्षेत्रफल ५५ हेक्टर मात्र थियो। स्थानीय जातको स्याउमा भने रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन र फूजी जातको स्याउको उत्पादन बढी छ।  

मुुस्ताङमा सबैगरि ९ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। ती सबै विरुवामा दाना भने लाग्दैन। करिब ५८५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीमा मात्र दाना लाग्ने गरेको छ। एकहेक्टर बराबर १५ देखि १६ मेट्रिक टन स्याउ फल्ने गरेको छ। यो वर्ष उत्पादन करिब ३० प्रतिशत बढ्ने परियोजनाको अनुमान छ। परार मुस्ताङले करिब ६० करोड रुपैयाँको स्याउबाट भिœयाएको थियो। त्यो आम्दानी अघिल्लो वर्ष ५५ करोड रुपैयाँ रहेकोमा यो वर्ष उत्पादन बढेकोले कम्तिमा ७५ करोड रुपैयाँ आम्दानी हुनेछ परियोजनको अनुमान छ।  

भट्टका अनुसार योपटक भने उत्पादन करिब ३० प्रतिशत बढ्ने अनुमान छ। ‘मौसमले साथ दियो। पानी नपरेपछि फूल झर्न पाएन। पानी नपर्दा परागसेचन राम्रोसँग हुन पायो। त्यसले उत्पादन बढाएको हो,’ उनले भने। स्याउका लागि हिउँ पर्नु राम्रो मानिन्छ। पानी बढी पर्दा किरा लाग्ने डर हुन्छ। उनका अनुसार यो पटक सबैगरि ६५ सय मेट्रिक टन स्याउ फल्ने अनुमान छ। पोहोर ५ हजार मेट्रिक टन फलेको थियो। ‘मुस्ताङले स्याउबाट मत्र ७५ करोड रुपैयाँ आम्दानी यो वर्ष गर्दैछ। यो निकै राम्रो आम्दानी हो,’ उनले भने, ‘अहिलेसम्मकै बढी आम्दानी यो वर्ष भएको छ।’  

असोज महिनाभरमा मुस्ताङको स्याउ बोटबाट टिपेर सकिन्छ। करिब ७० प्रतिशत उत्पादन सिजन अनुसार बिक्री हुन्छ। बाँकी ३० प्रतिशत उत्पादन भने कोल्डस्टोरमा राखिन्छ। स्याउ फुल्ने समय फागुन चैत हो। मुस्ताङको घरपझोङ र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती हुन्छ। समुन्द्री सतहदेखि २२ सय देखि ३२ सय मिटरसम्म स्याउ खेती हुन्छ। तर, ४ हजार मिटरसम्म पनि स्याउ खेती भने गरिएको छ। माथिल्लो भेगमा भने थोरै मात्रामा खेती हुने गरेको छ।  

प्रकाशित: १ आश्विन २०८१ १८:०२ मंगलबार

मुस्ताङ स्याउ